भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआउँदा यस क्षेत्रको पर्यटन र समग्र व्यवसाय नै धरासायी भएको भन्दै व्यवसायीहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको एक कार्यक्रममा व्यवसायीहरूले सरकारको उदासीनता र काठमाडौंका बिचौलियाको चलखेलका कारण विमानस्थल सञ्चालनमा आउन नसकेको आरोप लगाए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले विमानस्थल सञ्चालन नहुँदा व्यवसायीहरू संकटमा परेको बताउँदै "सुनको कचौरा लिएर भिख मागेको" जस्तो अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो । उहाँले विमानस्थल नचल्नुमा भारतलाई दोष दिएर सरकार पन्छिन खोजेको आरोप लगाउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवाल र सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ लगायतले विमानस्थललाई लक्षित गरी गरिएको अर्बौंको लगानी डुब्ने अवस्थामा पुगेको र होटलहरू लिलामी हुन थालेको गुनासो गरे । उनीहरुले सरकारले विमानस्थल सञ्चालन गर्न नसक्ने भए निजी क्षेत्रलाई जिम्मा दिन माग गरेका छन् ।
विमानस्थलका महाप्रवन्धक प्रतापबावु तिवारीले भिसा, श्रम स्वीकृति र मान्यता प्राप्त स्वास्थ्य संस्था जस्ता आवश्यक पूर्वाधारको अभावले नियमित उडान हुन नसकेको स्पष्ट पार्नुभयो । व्यवसायीहरूको गुनासोको जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्री प्रसाद पाण्डेले विमान स्थललाई जसरी पनि पूर्ण सञ्चालनमा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विमानस्थल सञ्चालन आफ्नो चाहनाले मात्र सम्भव नहुने भन्दै सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । मन्त्री पाण्डेले विमानस्थलबाट भारतका विभिन्न शहरमा उडान सुरु गर्न पहल भइरहेको र नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स जस्ता वायुसेवा कम्पनीहरूले प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।
साथै, उहाँले लुम्बिनी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि पर्यटन बोर्डको शाखा खोल्ने र पर्यटन प्रहरीको विस्तार गर्ने योजना रहेको पनि खुलासा गर्नुभयो । संघका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवसायीहरूले विमानस्थल सञ्चालनका लागि तत्काल ठोस कदम चाल्न सरकारसँग जोडदार माग गरेका थिए ।
बिना विचारे जाे करे, साे पीछे पछताय काम बिगाडे आपना, जगमे हाेय हंसाय ।