काठमाडौं । दीपावलीको समापनसँगै आज कात्तिक शुक्ल चतुर्थीदेखि चार दिवसीय छठ पर्व विधिवत् रूपमा सुरु भएको छ। पहिलो दिन ‘नहाय–खाय’ बाट सुरु हुने यो पर्व दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ।
सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वका लागि मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ भने घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन्। जातीय तथा सामुदायिक विभेदबिना सबै एकै लहरमा बसेर मनाइने यस पर्वको तयारीका लागि युवा तथा स्थानीयवासी नदीकिनार र पोखरीमा छठघाट निर्माण, सरसफाइ तथा झिलिमिली सजावटमा जुटेका छन्।