मर्चवार । प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही जिल्ला–४ मा चुनावी माहोल तातिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेका कन्हैया बनियाले विकास र सुशासनलाई मुख्य चुनावी एजेन्डा बनाउँदै घरदैलो अभियान तीव्र बनाएका छन् ।
बनियाले मधेसका अधिकार, कृषि सुधार र स्थानीय पूर्वाधार विकासलाई केन्द्रमा राखेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । क्षेत्रका विभिन्न वडामा आयोजित सभा, अन्तरक्रिया र टोलभेटघाट कार्यक्रममार्फत उनले आफ्नो योजनाबारे जानकारी गराउँदै मत मागिरहेका छन् ।
कृषि प्रधान क्षेत्रका रुपमा चिनिने रुपन्देही–४ मा किसानका समस्या चुनावी बहसको मुख्य विषय बनेको छ । सिँचाइ अभाव, मलखाद वितरणमा ढिलाइ, उत्पादनको उचित मूल्य नपाउने गुनासो उठाउँदै उम्मेदवार बनियाले किसानमैत्री नीति ल्याउने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । उनले निर्वाचित भएमा सिँचाइ पूर्वाधार विस्तार, सहुलियत दरमा मलखाद उपलब्धता र कृषि बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्ने बताए । “किसान बलियो भए मात्र क्षेत्र समृद्ध हुन्छ,” उनि चुनावी सभामा दोहोर्याउँदै आएको शब्द हो ।
चुनावी प्रचारका क्रममा बनियाले सामुदायिक विद्यालयको स्तरोन्नति, प्राविधिक शिक्षाको विस्तार र स्वास्थ्य चौकीमा जनशक्ति व्यवस्थापन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका । सीमा क्षेत्रका बस्तीहरुमा सडक सञ्जाल कमजोर रहेको उल्लेख गर्दै उनले प्रमुख सडक कालोपत्रे, चकियाघाट लगायतमा पुल निर्माण र ग्रामीण सडक स्तरोन्नतिलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको बताए । सीमा क्षेत्रको व्यवस्थापन र व्यापारिक सहजीकरणमा संघीय तहसँग समन्वय गर्ने योजना पनि उनले प्रस्तुत गरेका छन् ।
चुनावी सभाहरुमा बनियाले भ्रष्टाचार नियन्त्रण, सरकारी सेवा प्रवाहमा पारदर्शिता र जनताको सहज पहुँच सुनिश्चित गर्ने विषयलाई जोडदार रूपमा उठाइरहेका छन् । “सरकारी सेवा सर्वसाधारणको अधिकार हो,” भन्दै उनले सुशासनमार्फत विकासको अनुभूति गराउने दाबी गरिरहेका छन् ।
रुपन्देही–४ मा विभिन्न दलका उम्मेदवारहरू सक्रिय देखिएका छन् । मुख्य प्रतिस्पर्धी दलहरुबीच मत तान्ने प्रयास तीव्र बन्दै जाँदा चुनावी सभाहरूमा विकासका एजेन्डा नै प्रमुख रुपमा उठ्न थालेका छन् । स्थानीय मतदाताहरू भने यसपटक नाराभन्दा काम खोज्ने मनस्थितिमा देखिन्छन् । किसान, युवा र व्यवसायी वर्गले रोजगारी, पूर्वाधार र सेवा प्रवाह सुधारलाई प्राथमिक अपेक्षाका रुपमा राखेका छन् । समग्रमा, रुपन्देही–४ मा विकास, कृषि, सुशासन र सीमा क्षेत्रका मुद्दा केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।