मर्चवार । कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले जीवनमा सफलता हासिल गर्न सानै उमेरदेखि अध्ययनमा ध्यान केन्द्रित गर्दै कडा मेहनत र निरन्तर प्रयास गर्नुपर्ने बताउनुभएको छ । सामाजिक विषयको व्यवहारिक अध्ययनका क्रममा पालिका अवलोकनमा आएका प्रज्ञा गुरुकुल आश्रमका विद्यार्थीहरूसँगको छलफलमा उहाँले आफ्नो संघर्षको अनुभव सुनाउँदै अध्ययन र मेहनतको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो ।
विद्यार्थीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै प्रशासकीय अधिकृत यादवले पालिकामा भइरहेका विकास निर्माणका काम र शैक्षिक सुधारका विषयमा जानकारी गराउनुका साथै निधढक भएर प्रश्न गर्ने बानी बसाल्न आग्रह गर्नुभयो । कोटहीमाई गाउँपालिका–१, पुर्निहवास्थित प्रज्ञा गुरुकुल आश्रममा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरू स्थानीय सरकारसम्बन्धी पाठ्यसामग्रीको प्रत्यक्ष अनुभव लिन पालिका कार्यालय पुगेका हुन् ।
विद्यालयका शिक्षक वीरेन्द्रप्रसाद गुप्ताका अनुसार पाठ्यक्रममा आधारित स्थानीय तहको कार्यप्रणाली र शाखाहरूको जिम्मेवारीबारे प्रत्यक्ष ज्ञान दिलाउन विद्यार्थीलाई अवलोकन भ्रमणमा ल्याइएको हो । अवलोकनका क्रममा विद्यार्थीहरूले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षका साथै अन्य विषयगत शाखाहरूको कार्यसम्पादन प्रक्रियाबारे नजिकबाट जानकारी लिएका थिए ।