सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबिच भएको झडप नियन्त्रणका क्रममा एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन र शान्ति-सुरक्षा कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा जारी आदेशअनुसार हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नाजस्ता गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको छ। तोकिएको सीमाभित्र आदेश उल्लङ्घन गर्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम रु एक हजारसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुने प्रशासनले चेतावनी दिएको छ।
आइतबार राति दुई समूहबिच उत्पन्न विवाद उग्र बनेपछि नियन्त्रणमा लिने क्रममा चलेको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सोही झडपमा आठ जना प्रदर्शनकारी र दुवै सुरक्षा निकायका गरी २४ जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेमध्ये केही प्रदर्शनकारीको अवस्था गम्भीर रहेको छ।
यसैबिच सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेन्द्र थापाले झडपका क्रममा दुवै सुरक्षा निकायबाट गोली चलेको भए पनि मेहताको मृत्यु कसको गोलीबाट भएको हो भन्नेबारे स्वतन्त्र पुष्टि भइनसकेको जानकारी दिनुभएको छ। घटनाको गहन अनुसन्धान भइरहेकाले निष्पक्ष छानबिनपछि मात्र वास्तविक कारण बाहिर आउने प्रहरीले जनाएको छ।