रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी र भारतको उत्तर–पूर्वी क्षेत्रको पर्यटन प्रवद्र्धनसहित क्षेत्रीय सहयोग विस्तार गर्ने उद्देश्यले लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी भएको छ । लुम्बिनी होटल सङ्घ र भारतको उत्तर–पूर्वी क्षेत्रका आठ राज्यका पर्यटन व्यावसायी सम्मिलित महासङ्घबीच भएको सो समझदारीबाट लुम्बिनी क्षेत्र र भारतको उत्तर–पूर्वी क्षेत्रबीच पर्यटन, संस्कृति, आतिथ्यता तथा व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लुम्बिनी होटल सङ्घका अध्यक्ष लीलामणि शर्मा ‘जुपिटर’ले गत वर्ष दुई लाख ६९ हजार भारतीय पर्यटक लुम्बिनी घुम्न आएका जानकारी दिँदै द्विपक्षीय समझदारीपछि ८० हजार वृद्धि भई करिब तीन लाख ५० हजारभन्दा बढी भारतीयले लुम्बिनीको भ्रमण गर्ने अपेक्षा गरेको बताउनुभयो । उहाँले पर्यटकको बसाइ अवधि लम्ब्याउन बुद्ध जन्मस्थलमा पूर्वाधार विकाससहित आसपासका क्षेत्रलाई पनि पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
उत्तर–पूर्वी भारत पर्यटन महासङ्घका महासचिव छिरिङ्ग वाङ्गेले द्विपक्षीय समझदारीपछि पवित्र बुद्धभूमिको प्रचारप्रसारसहित क्षेत्रीयस्तरमा लाभान्वित हुन, धर्म–संस्कृतिको संरक्षण तथा व्यावसायिक प्रवद्र्धन गर्न र भाइचाराको सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी, होटल सङ्घका पूर्वअध्यक्ष गोविन्द ज्ञवालीले दुवैतर्फ लाभान्वित हुनेगरी स्थल तथा हवाई सम्पर्क विस्तारसँगै संयुक्त पर्यटन प्याकेज निर्माण गरी पर्यटक आवागमन बढाउनेतर्फ ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।
समझदारीमा लुम्बिनी र उत्तर–पूर्वी भारतलाई जोडेर पर्यटन तथा तीर्थयात्राको संयुक्त प्रवद्र्धन गर्ने, पर्यटकको बसाइ अवधि लम्ब्याउने, बौद्ध तथा हिन्दू तीर्थस्थलसहित सांस्कृतिक र पर्या–पर्यटन गन्तव्यलाई जोड्ने उल्लेख छ । त्यस्तै, स्थल तथा हवाई सम्पर्कको सम्भावना पहिचान, सीमापार आवागमन सहज बनाउन सम्बन्धित निकायसँग समन्वय तथा पर्यटन व्यवसायी, सञ्चारकर्मी र ‘डिजिटल’ सामग्री उत्पादकबीच नियमित आदानप्रदान गर्ने सहमति भएको सङ्घले जनाएको छ ।
यसैबीच, रुपन्देहीको कोटहीमाई गाउँपालिका मर्यादापुरमा सञ्चालित एकदिने निःशुल्क आँखा परीक्षण शिविरमा ५२ जनामा मोतियाविन्दु पहिचान भएको छ । स्थानीय मर्चवार सहकारी संस्थाको आयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टरअन्तर्गत श्री रण–अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा राखिएको शिविरमा आसपासका २७५ जनाको नेत्र परीक्षण गरिएकामा ५२ जनामा मोतियाविन्दुको समस्या देखिएको हो ।
वरिष्ठ नेत्र अधिकृत डा सञ्जीव अधिकारीको नेतृत्वमा खटिएको प्राविधिक टोलीले शिविरमा सहभागीको आँखा परीक्षण तथा आवश्यक परामर्श दिएको रण–अम्बिका शाह अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिनुभयो । ग्रामीण तथा पहुँचको हिसाबले पछाडि परेका मर्चवार क्षेत्रका नागरिकलाई घरनजिकै आधारभूत आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको सूचना अधिकारी पाण्डेयले बताउनुभयो ।