भाषणमा ‘समृद्धि’, व्यवहारमा ‘सास्ती’ : रोहिणीका विद्यार्थीलाई नयाँ भवन ‘आकाशको फल’

विवेक विश्वकर्मा 26+ समाचार ( )
२ माघ २०८२, बिहीबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित श्री बगहा माध्यमिक विद्यालयमा विद्यार्थीको पठनपाठन सहज बनाउनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे पक्की भवन निर्माण गरियो । भवनको निर्माण कार्य भौतिक रूपमा सम्पन्न भइसकेको छ । बाहिरबाट हेर्दा भवन चिटिक्क देखिन्छ, तर विडम्बना– विद्यार्थीहरू भने कक्षाकोठा अभावमा एउटै कोठामा कोचिएर पढ्न बाध्य छन् । निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि ठेकेदार र पालिकाबीचको भुक्तानी विवादका कारण विद्यालयले भवनको भोगचलन गर्न नपाउँदा विद्यार्थीहरूले सास्ती खेप्नुपरेको हो ।

विद्यालयका प्रधानाध्यापक प्रेमनाथ त्रिपाठीका अनुसार नयाँ शैक्षिक सत्रदेखि नै विद्यार्थीलाई नयाँ भवनमा राखेर पढाउने योजना थियो । तर, निर्माण व्यवसायीले निर्माण कार्य सके पनि भुक्तानी नपाएको भन्दै भवनको चाबी हस्तान्तरण गरेका छैनन् । भवन तयार भएर पनि प्रयोग गर्न नपाउँदा विद्यालयले अहिले ‘मल्टिग्रेड’ (बहुकक्षा) शिक्षण विधि अपनाउनु परेको छ । कक्षा ३ र ४ का विद्यार्थीलाई एउटै कोठामा तथा बाल विकास देखि कक्षा १ सम्मका साना बालबालिकाहरूलाई अर्को एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता सिर्जना भएको छ । यसरी एउटै हलमा फरक–फरक तहका विद्यार्थीहरूलाई कोचाकोच गरी राख्दा न शिक्षकले प्रभावकारी रूपमा सिकाउन सकेका छन्, न त विद्यार्थीले शान्त वातावरणमा सिक्न पाएका छन् । यसले विद्यालयको शैक्षिक गुणस्तरमा नै गम्भीर असर पु¥याएको छ ।

यस विषयमा निर्माण व्यवसायी रबिन्द्र यादवसँग बुझ्दा उनले आफूले काम सके पनि पाउनुपर्ने भुक्तानी नपाएकाले बाध्य भएर ताला लगाउनुपरेको बताए । अहिले ताला खोलिदिए भवनमा टुटफुट हुन सक्ने र भुक्तानी झन् अनिश्चित हुने भन्दै उनले पैसा पाएपछि मात्र चाबी बुझाउने अडान लिएका छन् । उता विद्यालयले गाउँपालिका अध्यक्ष र सम्बन्धित निकायमा पटक–पटक लिखित र मौखिक ताकेता गर्दा पनि समस्या समाधान हुन सकेको छैन । अध्यक्षले आश्वासन मात्र दिने तर निकास ननिस्कने परिपाटीले विद्यालय परिवार निराश बनेको छ ।

यस प्रकरणमा गाउँपालिका र जनप्रतिनिधिहरूको भूमिका भने अत्यन्त गैरजिम्मेवार देखिएको छ । विद्यार्थीहरूको भविष्यसँग जोडिएको यति संवेदनशील विषयमा जानकारी लिन खोज्दा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले फोन नै उठाएनन् भने सम्बन्धित वडाका वडाध्यक्ष अबिद अली पनि सम्पर्कमा आउन चाहेनन् । जिम्मेवार पदमा बसेका व्यक्तिहरूले यसरी सञ्चारमाध्यम र नागरिकको चासोबाट तर्किन खोज्नुले उनीहरूको शिक्षाप्रतिको उदासीनता प्रस्ट पारेको छ ।

स्थानीय अभिभावकहरूले भने जनप्रतिनिधिहरू भाषणमा ठूला–ठूला आदर्शका कुरा गर्ने तर व्यवहारमा भने सिन्को नभाँच्ने प्रवृत्ति देखाएको भन्दै आक्रोश पोखेका छन् । गाउँपालिकाको कमजोरी र लापरबाहीका कारण विद्यार्थीहरूले दुःख पाइरहेको उनीहरूको गुनासो छ । भौतिक पूर्वाधार ठडिएर मात्र नहुने भन्दै उनीहरूले शैक्षिक गुणस्तर सुधारमा पालिकाले देखाएको यो हदसम्मको बेवास्ताले स्थानीय सरकारको औचित्यमाथि नै प्रश्न खडा गरेको बताएका छन् । विद्यालयले भवन बाहेक सुरक्षाका लागि सिसीटिभी जडानको माग गरे पनि त्यो पनि आश्वासनमै सीमित भएको छ । तयार भएको संरचना प्रयोगविहीन राखेर बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको भन्दै सरोकारवालाहरूले तत्काल समस्या समाधानको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार