"जितको प्रमाणपत्र मात्र नपाएको हो, जनताको विश्वासको प्रमाणपत्र मसँग सधैं छ"

विवेक विश्वकर्मा 26+ समाचार ( )
ताहिर अली सहायक महामन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टी
२९ मंगशिर २०८२, सोमबार

रुपन्देहीको रोहिणी र आसपासका क्षेत्रमा ‘ताहिर अली’ नौलो नाम होइन । वि.सं. २०३८ सालको पञ्चायतकालदेखि नै निरन्तर जनताको सेवामा समर्पित अलीले नेपाल वायुसेवा निगमको जागिरको सुरक्षित भविष्य छोडेर अनिश्चित राजनीतिको बाटो रोजे । जात, धर्म र सम्प्रदायभन्दा माथि उठेर ‘मानवताको राजनीति’ गर्ने उनको छवि लोभलाग्दो छ ।

विभिन्न सामाजिक संघ-संस्थाको नेतृत्वदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सहायक महामन्त्री एवम् लुम्बिनी प्रदेश स्थानीय तह परिचालन विभागका संयोजकसम्मको जिम्मेवारी सम्हालिसकेका अली, चुनावी नतिजामा बारम्बार थोरै मतान्तरले ‘दोस्रो’ भए पनि जनमनमा भने ‘पहिलो’ नै छन् । रोहिणी गाउँपालिकाको अध्यक्षमा झिनो मतले पराजित भएर पनि आफ्नो टिमलाई जिताउन सफल, हारमा पनि जित देख्ने उनै ताहिर अलीसँग गरिएको कुराकानीको सम्पादित अंश :

१. वायुसेवा निगमको जागिर जस्तो सुरक्षित भविष्य छोडेर जोखिमपूर्ण राजनीति र समाजसेवा रोज्नुको मुख्य कारण के थियो ?

हेर्नुस्, म एक सामान्य परिवारमा जन्मेको मान्छे हुँ। जागिरमा हुँदा मलाई सधैं एउटै कुराले घोच्थ्यो– 'जागिरले म र मेरो परिवार त पालिन्छ, तर समाजका लागि केही गर्न सकिँदैन।' वि.सं. २०३७ सालतिर जब म विद्यार्थी राजनीतिमा होमिएँ, त्यसपछि जनताको सेवामा जुन आत्मसन्तुष्टि र आनन्द भेटेँ, त्यो अरू कतै पाइनँ। त्यसैले जागिर छोडेर पूर्णकालीन राजनीति र समाजसेवामा लागेँ। मैले कहिल्यै जात, धर्म वा सम्प्रदाय हेरेर राजनीति गरिनँ, सधैं ‘मानव’ भएर काम गर्ने प्रयास गरेको छु।

२. श्री राम नरेश यादव आदर्श नमुना मा.वि. देखि धकधई खानेपानी र मुस्लिम आयोगसम्म काम गर्नुभयो। यी सामाजिक जिम्मेवारीका अनुभव कस्ता रहे ?

एकदमै सुखद रहे। पद मेरो लागि कहिल्यै साध्य भएन, यो त सेवा गर्ने साधन मात्र बन्यो। विद्यालय व्यवस्थापन समितिमा दुई कार्यकाल (६ वर्ष) अध्यक्ष हुँदा शैक्षिक सुधारमा धेरै काम गर्ने मौका पाएँ। धकधई खानेपानीको अध्यक्ष हुँदा जनतालाई शुद्ध पिउने पानी खुवाउन पाएँ। यस्तै, पूर्वमन्त्री स्व. दिपक बोहोराको स्वकीय सचिव भएर काम गर्दा नीतिगत तहमा बसेर जनताको सेवा गर्ने अवसर मिल्यो। यी सबै जिम्मेवारीमा रहँदा मैले इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेको छु।

३. रोहिणी गाउँपालिकाको अध्यक्ष र प्रदेश सभामा तपाईं बारम्बार थोरै मतले ‘दोस्रो’ हुनुभयो। अझ एउटा चुनावमा त गाई र गोरु चिन्हको झुक्यानले २१८ मतले हार्नुभयो। यो हारलाई कसरी लिनुहुन्छ ?

(मुस्कुराउँदै) हेर्नुस्, प्राविधिक रूपमा म हारेको देखिएला, तर म आफूलाई कहिल्यै हारेको महसुस गर्दिनँ। गाउँपालिकाको चुनावमा गाई र गोरु चिन्ह उस्तै देखिँदा धेरै मतदाता झुक्किए, जसले गर्दा प्राविधिक रूपमा थोरै मतले पछि परेँ। तर, जनताले मलाई दिने भोट हरेक पटक बढाएका छन्। जितको प्रमाणपत्र मात्र मेरो हातमा नपरेको हो, जनताको विश्वासको प्रमाणपत्र त मसँग सधैं छ। त्यही विश्वास नै मेरो असली जित हो।

४. आफू हारेर पनि रोहिणीमा राप्रपाको संगठन देशकै उत्कृष्ट बनाउनुभयो। यो त्याग र समर्पण कसरी सम्भव भयो?

राजनीतिमा आफू जित्नु मात्र ठूलो कुरा होइन। म आफू अध्यक्षमा थोरै मतले पछि परे पनि मेरो टिमका वडा अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूलाई जिताउन इमानदारीपूर्वक लागेँ। विपक्षी दलका नेताहरूले मलाई हराउन प्रतिशोध साँधेर घेराबन्दी गरे, तर मेरो टिमलाई रोक्न सकेनन्। आज रोहिणीमा राप्रपाबाट निर्वाचित जनप्रतिनिधिको संख्या देशमै उत्कृष्ट हुनु मेरो लागि व्यक्तिगत जितभन्दा ठूलो कुरा हो। म हारेर पनि साथीहरूलाई जिताउन सकेकोमा मलाई गर्व लाग्छ।

५. पटक-पटकको झिनो मतान्तरको हार र विपक्षीको घेराबन्दीले कहिल्यै निराशा जगाएन?

अहँ, कहिल्यै जगाएन। किनभने जनता मप्रति सकारात्मक छन्। मलाई थाहा छ– जनताले मलाई भोट दिएका हुन्, मलाई जिताएकै हुन्। प्राविधिक कारण वा षड्यन्त्रले नतिजा मेरो पक्षमा नआएको होला, तर जनताको मायामा कुनै कमी छैन। जनताको माया नै मेरो शक्तिको स्रोत हो। त्यसैले म निराश छैन, बरु थप उर्जाका साथ जनताको माझमा छु।

६. अहिले कुनै निर्वाचित पदमा हुनुहुन्न, तैपनि जनताको सेवामा खटिरहनुभएको छ। अबको योजना के छ?

पद हुनु र नहुनुले सेवा भावमा फरक पार्दैन रहेछ। म हिजो पनि पदमा नहुँदा जनताको सेवामै थिएँ, आज पनि छु। मलाई पदको लोभ छैन, चिन्ता मात्र यति हो कि मेरो रोहिणीबासीले दुःख नपाउन्। सरकारी सेवा सुविधा नभए पनि ताहिर अली सधैं जनताको सेवक भएरै बाँच्नेछ। मेरो राजनीति कुर्सीका लागि होइन, कर्मका लागि हो। म अन्तिम श्वाससम्म जनताकै सुख-दुःखमा साथ रहनेछु।

प्रतिक्रिया

सम्बन्धित समाचार