गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक विपद्का समयमा खोज, उद्धार तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनीको २५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कठिन परिस्थितिमा सशस्त्र प्रहरी बलको सक्रिय परिचालनले प्रदेश सरकारलाई विपद् व्यवस्थापनमा थप सक्षम बनाएको उल्लेख गर्नुभयो ।
फेवातालमा गोताखोर टोलीद्वारा गरिएका उद्धार, हवाई तथा सडक दुर्घटनामा सञ्चालन गरिएका उद्धार अभियान, काली गण्डकी, सेती र त्रिशूली नदीमा भएका खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीले देखाएको साहसको मुख्यमन्त्रीले सराहना गर्नुभयो । मुख्यमन्त्री पाण्डेले सीमा सुरक्षा, राजस्व छली नियन्त्रण, औद्योगिक सुरक्षा, हुलदङ्गा व्यवस्थापनमा पनि सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिका अन्य सुरक्षा निकायका निम्ति प्रेरक छन् भन्नुभयो ।