घरबाटै चोरीका मोटरसाईकल तान्ने प्रहरी रणनिति
चोरीका मोटरसाईकल छोप्न प्रहरीको “क्लिन स्वीप अपरेशन”

Ujyalosandeshonline 2372+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

भैरहवा । रुपन्देहीमा चोरी, लुटपाट, लागुऔषध दुव्र्यसन लगायतका अपराधमा चोरीको मोटरसाईकलको ब्यापक प्रयोग भए पछि रुपन्देही प्रहरीले यसको नियन्त्रणको लागि बिशेष अभियान सञ्चालन गरेको छ । पुस १ गते देखि “क्लिन स्वीप अपरेशन” नाम दिएर प्रहरीले चोरीका मोटरसाईकल नियन्त्रणमा सक्रियता देखाएको छ । 

अभियान सुरु गरे यता मात्र २३ वटा मोटरसाईकल र ९ जना आरोपितहरुलाई नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माले जानकारी दिए । केही दिन यता भैरहवाबाट एकैदिन ८ वटा मोटरसाईकल चोरी भएको थियो । सोही चोरीको घटना पछ्याउदै जादा प्रहरीले २३ वटा मोटरसाईकल बरामद गरेको छ । रुपन्देही प्रहरी प्रमुख विश्वकर्माले अबको दिनमा चोरीका मोटरसाईकल नियन्त्रणमा अझै आक्रमक तरिकाले लाग्ने बताए । “हामीलाई सूचना आयो भने हामी घरमै गएर पनि चोरीका मोटरसाईकल बरामद गरेर ल्याउछौं ।” विश्वकर्माले भने  “यस्तो कार्यमा संलग्न जो सुकै होस त्यसलाई पनि कार्यवाहीको दायरामा ल्याउने छौं ।”

प्रहरी उपरिक्षक विश्वकर्माले भारतीय सीमा नजिक भएको कारण भारतबाट चोरी गरि ल्याईएका मोटरसाईकलहरु सस्तो मूल्यमा खरिद गरि प्रयोग गर्नेहरु बढेको बताए । “आफ्ना छोराछोरीहरु कस्तो मोटरसाईकल प्रयोग गरेका छन् यो अभिभावकले पनि ख्याल गर्नुपर्छ ।” उनले भने “अहिले धनाढ्य घरका मानिसहरु नै यस्तो कार्यमा लागेका पाईएको छ ।”

पुस १ गते यता प्रहरीले २ वटा रोयल ईन्फिल्ड, बजाज पल्सर १ वटा, हिरो स्पेलेण्डर ६ वटा, बजाज पल्सर २२० सीसीको ३ वटा, यामाहा एफजेड १, हिरो डिलक्स १, हिरो होण्डा २, यामाहा आर १५ मोटरसाईकल २ वटा, फरिना स्कुटर १ वटा, डियो १ वटा, बजाज डिस्कोभर २ वटा र बजाज पल्सर २२० एनएस १ वटा गरि २३ वटा मोटरसाईकल बरामद भएको विश्वकर्माले जानकारी दिए ।  

यसै अवधिमा एउटै ईन्जिन नम्बर भएको २ वटा फोर्ड कम्पनीका कारहरु पनि बरामद गरिएको उहाले जानकारी दिए । तिलोत्तमा नगरपालिका वडा नम्बर २, जानकीनगरमा रहेको श्रीनगर अटो ग्यारेजमा एउटै ईन्जिन नम्बरको कार रहेको सूचनामा प्रहरीले दुईटै कारलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले बताए ।

बिशेषतः जिल्लाको दक्षिणी क्षेत्रमा भारतीय नम्बर प्लेटका मोटरसाईकलहरुको प्रयोग बढ्दो रहेको छ । यस्ता मोटरसाईकलहरु अपराधिक क्रियाकलापमा प्रयोग गर्ने र सजिलै सीमा पारी भाग्ने गरेका थिए । कतिपय अवश्थमा भारतबाट चोरी भएका मोटरसाईकल वा मोटरसाईकलका पार्टसहरु नेपालमा बिक्रि वितरण हुदै आएका छन् । नेपाली मोटरसाईकलको तुलनामा अत्यन्त सस्तो मूल्य रहेको कारण युवाहरु यस्ता चोरीका मोटरसाईकल तर्फ आकर्षित भएका छन् । 

अहिले रुपन्देही प्रहरीको “क्लिन स्वीप अपरेशन” पनि यस्तै युवाहरुलाई केन्द्रित गरि ल्याईएको हो । यस क्रममा प्रहरीले चोरीको मोटरसाईकल सहित लागु औषधमा ७ वटा मुद्दा दर्ता गरेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार