हातमा स्नातकोत्तर (MBS) को प्रमाणपत्र, साथमा कानुन (LLB) को अध्ययन । सामान्यतया यो शैक्षिक योग्यता भएका युवाहरू सुकिला लुगा लगाएर कुनै कर्पोरेट हाउस वा सरकारी कार्यालयमा भेटिन्छन् । तर, भैरहवाको सिद्धार्थनगर वडा नम्बर–१३, महेन्द्र सभागृहको ठिक छेउमा भेटिन्छन– सुबाश निषाद ।
४१ वर्षीय सुबाश आफ्नो हजुरबुवाले ७० वर्षअघि सुरु गरेको पुख्र्यौली माछा पेसालाई आधुनिक र व्यवस्थित ढंगले अगाडि बढाइरहेका छन् । सरकारी जागिरका लागि पटक–पटकको प्रयास असफल भएपछि निराश नभई उनले आफ्नै ’रगत र पसिना’ मिसिएको पुख्र्यौली पेसा रोजे । आज ‘सुबास रेष्टुरेन्ट’ भैरहवामा माछा पारखीहरूको लागि एउटा ब्रान्ड बनेको छ । प्रस्तुत छ, उच्च शिक्षित भएर पनि स्वरोजगारमा रमाइरहेका सुबाश निषादसँग पत्रकार विवेक विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :
सुबाश जी, यो माछा पसलको इतिहास निकै लामो र रोचक सुनिन्छ । यसको सुरुवात कसरी भयो र तपाईं तेस्रो पुस्ताका रुपमा यहाँ कसरी जोडिनुभयो ?
हजुर, यो पसलको जग मेरो हजुरबुवा विन्देश्वरी मल्लाहले राख्नुभएको हो । करिब ७० वर्षअघि उहाँले सुरु गर्नुभएको यो व्यवसायलाई बुबाले निरन्तरता दिनुभयो र अहिले म तेस्रो पुस्ताको रूपमा यसलाई सम्हालिरहेको छु । सानैदेखि घरमा माछाको व्यापार देखेर हुर्किएँ, त्यसैले यो पेसा मेरा लागि नयाँ थिएन । तर, पूर्ण रूपमा यसैमा लाग्छु भनेर चाहिँ सोचेको थिइनँ । अहिले आएर हजुरबुवाको विरासत जोगाउन पाउँदा गर्व लाग्छ ।
तपाईं आफैं उच्च शिक्षित हुनुहुन्छ, एमबीएस पास गर्नुभएको छ । सरकारी जागिर वा अन्य अवसर छोडेर यही पेसामा आउनुपर्ने विशेष कारण केही थियो ?
(मुसुक्क हाँस्दै) पढाइमा मैले कुनै कमी गरिनँ । भैरहवा बहुमुखी क्याम्पसबाट एमबीएस पास गरें र अहिले पनि बुटवल बहुमुखी क्याम्पसमा एलएलबी दोस्रो वर्षमा अध्ययनरत छु । स्वभाविक हो, पढेपछि सरकारी जागिर खाने रहर मलाई पनि थियो । मैले लोकसेवा आयोग, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र विशेषगरी नेपाल राष्ट्र बैंकको सहायक द्वितीय पदमा ५ पटकसम्म परीक्षा दिएँ । धेरै मिहिनेत र संघर्ष गर्दा पनि विडम्बना कतै नाम निस्किएन । त्यसपछि लाग्यो– “अरूको ढोका चहार्नुभन्दा आफ्नै पुर्खाले खडा गरेको जगलाई किन बलियो नबनाउने ?” त्यसपछि मैले पूर्णकालीन रूपमा यही पेसा अँगाल्ने निधो गरें । अहिले यही पेसाले मलाई नाम र दाम दुवै दिएको छ, घर–परिवार र पढाइ खर्च मज्जाले धानिएको छ ।
पहिले र अहिलेको व्यापारमा के फरक पाउनुभएको छ? विशेषगरी माछाको स्रोतको कुरा गर्दा ?
धेरै फरक छ । मेरो हजुरबुवा (बाजे) को पालामा माछाका लागि हामी पूर्ण रूपमा भारत (इन्डिया) सँग निर्भर हुनुपथ्र्यो । तर, अहिले समय फेरिएको छ । नेपालमै, विशेषगरी रुपन्देहीको छपियामा पर्याप्त मात्रामा माछा उत्पादन हुन्छ । अहिले हामीलाई माछाको लागि भारतको मुख ताक्नु पर्दैन । हामी आफ्नै ठाउँको ताजा र लोकल माछा ग्राहकलाई खुवाउँछौं, जसले गर्दा स्वाद र स्वास्थ्य दुवैमा हामी सम्झौता गर्दैनौं ।
‘सुबास रेष्टुरेन्ट’ मा माछाका कस्ता परिकार पाइन्छन् र ग्राहकहरूको प्रतिक्रिया कस्तो छ ?
हामीकहाँ विशेषगरी ग्रास, रोहु, सिल्भर, कमन, बिगहेड र झिङ्गे लगायत माछाका विभिन्न परिकारहरू पाइन्छ । ग्राहकहरूले आफ्नो रुचि अनुसार फ्राइ वा ग्रेभी माछा अर्डर गर्नुहुन्छ । दैनिक औसतमा १०० जना जति ग्राहक यहाँ आउनुहुन्छ । जाडो मौसममा त व्यापार झन् राम्रो हुन्छ । खुसीको कुरा के छ भने, यहाँ भैरहवाका स्थानीय मात्र होइन, हाम्रो माछाको स्वाद लिन भारतीय सीमावर्ती क्षेत्रबाट समेत ग्राहकहरू आउने गर्नुहुन्छ ।
एउटा शिक्षित युवाले माछा बेचिरहँदा समाज वा ग्राहकबाट कस्तो प्रतिक्रिया पाउनुहुन्छ ?
सुरुमा त कतिपयले “यत्रो पढेर पनि माछा पसल ?” भनेर कुरा काट्थे होलान् । तर अहिले ग्राहक र शुभचिन्तकहरूले निकै सकारात्मक प्रतिक्रिया दिनुहुन्छ । धेरैले “हजुरबुवाको पेसालाई जोगाइराख्नु भएको छ, पढेलेखेको मान्छेले व्यवसाय गर्दा अझ व्यवस्थित हुन्छ”भनेर हौसला दिनुहुन्छ । पसलमा मेरो परिवारका सदस्यहरूले पनि सघाउनुहुन्छ, यो हाम्रो पारिवारिक पेसा हो । यो आत्मसन्तुष्टिको कुरा पनि रहेछ ।
अन्त्यमा, भैरहवा आउने आगन्तुकहरूलाई के भन्न चाहनुहुन्छ ?
म यति मात्र भन्न चाहन्छु– सुबाश माछा पसलको शाखा भैरहवा बाहेक अन्यत्र छैन । यदि तपाईंहरू भैरहवा आउँदै हुनुहुन्छ वा लुम्बिनी घुम्न आउनुभएको छ भने, महेन्द्र सभागृहको छेउमा रहेको हाम्रो रेष्टुरेन्टमा एकपटक अवश्य आउनुहोस् । ७० वर्ष पुरानो स्वाद र आत्मीयता पक्कै पाउनुहुनेछ । भैरहवा आएपछि सुबाशको माछा नचाखी नफर्कनुहोला ।