भैरहवा । राष्ट्रिय वैश्य महासंघ नेपाल, रुपन्देहीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका परिवारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । महासंघ रुपन्देही शाखाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु एक लाख ८१ हजार रकम जम्मा गरी सहयोग गरेको हो ।
संस्थाका अध्यक्ष अमित कुमार गुप्ताको अगुवाइमा गएको पदाधिकारी तथा सदस्यहरुको टोलीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई भेटी रकम जम्मा गरिएको बैंक भौचर हस्तान्तरण गरेको छ ।
बाढीपहिरोका कारण समस्यामा परेका नागरिकलाई तत्काल राहत पुगोस् र उनीहरुको पुनर्स्थापनामा सहयोग मिलोस् भन्ने उद्देश्यले सो रकम प्रदान गरिएको महासंघका महासचिव तालकेश्वर कान्दुले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै राष्ट्रिय वैश्य महासंघ नेपालले विगतका दिनहरुमा पनि विभिन्न विपद् तथा सामाजिक कार्यहरुमा सहयोग पुर्याउँदै आएको छ ।