साई ग्लोबल कपः लुम्बिनी इन्जिनियरिङ र लुम्बिनी बाणिज्यलाई सफलता

Ujyalosandeshonline 11434+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

भैरहवा । लुम्बिनी इन्जिनियरिङ कलेज र लुम्बिनी बाणिज्य क्याम्पस भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलमा लुुम्बिनी इन्जिनियरिङले सिटी क्याम्पसलाई १० विकेट तथा लुम्बिनी बाणिज्यले अक्सफोर्ड कलेजलाई ९ विकेटले पराजित गर्दै जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको सिटी क्याम्पसले निर्धारित २० ओभरमा १५ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७० रनको झिनो योगफल बनायो । उसका लागि सुशील भट्टराईले १३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम झिनो योगफलमा रोकियो । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनी इन्जिनियरिङका विपिन न्यौपानेले ५, आशिष भुसालले ३ र गुन्जन पोखरेलले २ विकेट हात पारे ।

जावाफी ब्याटिङ गरेको लुम्बिनी इन्जिनियरिङले ११ ओभरमा विना क्षति ७२ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा विपिन न्यौपानेले अविजित ४५ रन बनाउँदा गुन्जन पोखरेलले नटआउट १९ रन जोडे । खेलमा विपिन न्यौपाने प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ हात पारे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी बाणिज्यले ८ विकेटको नोक्सानीमा १ सय १९ रन बनायो । उसका लागि सन्देश पौडेलले ३४ र सोहन भण्डारीले १० रन बनाए । बलिङमा अक्सफोर्डका देव खनालले ३, अनमोल मगरले २ तथा चन्द्रमणि भट्टराई, उत्तम जैसवाल र जीवलाल अधिकारीले समान १–१ विकेट लिए ।

प्रतिउत्तरमा अक्सफोर्डले ७ विकेटको नोक्सानीमा जम्मा १ सय १० रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि विष्णु पाण्डेले २८, अनमोल मगरले २६, दिनेशलाल यादवले नटआउट १८ र देव खनालले १६ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा लुम्बिनी बाणिज्यका अभिषेक खनाल र निरज भण्डारीले २–२ तथा अर्चित सुवेदी र रोशन थापाले १–१ विकेट लिए । खेलमा अभिषेक खनालले प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार