सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति

रासस 695+ समाचार ( )
१५ अशोज २०८३, बिहीबार

महेन्द्रनगर (धनुषा) । नेपाल-भारत सीमाको सुरक्षा व्यवस्थापन, सूचना आदानप्रदान तथा सीमावर्ती क्षेत्रमा हुने गतिविधि नियन्त्रणका विषयमा दुवै देशका सुरक्षा अधिकारीबीच छलफल भएको छ । धनुषाको नगराइन नगरपालिका-२ स्थित जटही सीमानाकामा भारतको ४८औँ बटालियन सशस्त्र सीमा बल (एसएसबी) जयनगरले आज आयोजना गरेको समन्वय बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

बैठकमा नेपाली पक्षको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गर्नुभएको थियो भने भारतीय पक्षको नेतृत्व ४८औँ बटालियन एसएसबी जयनगरका कमान्डेन्ट राजेन्द्रकुमारले गर्नुभएको थियो । बैठकमा खुला सीमाका कारण उत्पन्न हुनसक्ने सुरक्षा चुनौती, सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण, सूचना आदानप्रदान र दुवै देशका सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले मधेस प्रदेशमा सशस्त्र प्रहरीले सीमा सुरक्षाका क्षेत्रमा गरिरहेको काम तथा सीमावर्ती क्षेत्रमा देखिएका सुरक्षा चुनौतीबारे भारतीय सुरक्षा अधिकारीसँग छलफल गरिएको जानकारी दिनुभयो । नेपाल र भारतबीच खुला सीमा रहेकाले सीमा क्षेत्रमा देखिने समस्या समाधानका लागि दुवै देशका सुरक्षा निकायबीच नियमित सम्पर्क र समन्वय आवश्यक रहेको प्रहरी महानिरीक्षक पौडेलले बताउनुभयो । सीमा क्षेत्रमा देखापर्ने सम्भावित सुरक्षा चुनौतीबारे समयमै सूचना आदानप्रदान गरी आवश्यक कदम चाल्ने विषयमा बैठकमा विशेष जोड दिइएको उहाँको भनाइ छ । “सीमा क्षेत्रमा दुवै देशको सुरक्षाका लागि कसरी प्रभावकारी रूपमा काम गर्ने भन्ने विषयमा छलफल भएको छ”, उहाँले भन्नुभयो ।

सीमावर्ती क्षेत्रमा कुनै सुरक्षा समस्या उत्पन्न भए तत्काल आपसी सम्पर्क र समन्वय गर्ने तथा शान्ति, सुव्यवस्था कायम राख्न सहकार्यलाई निरन्तरता दिने विषयमा दुवै पक्षबीच समझदारी भएको जनाइएको छ । बैठकमा सीमा सुरक्षासँगै नेपाल-भारत सुरक्षा निकायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो । सीमामा खटिने सुरक्षाकर्मीबीच नियमित सम्पर्क र समन्वय कायम हुँदा सीमावर्ती क्षेत्रमा उत्पन्न हुने समस्या पहिचान तथा समाधानमा सहज हुने धारणा सहभागी अधिकारीहरूले राखेका थिए ।

खुला सीमाका कारण दुवै देशका नागरिकबीच सामाजिक, पारिवारिक तथा आर्थिक सम्बन्धसमेत रहेको अवस्थामा नागरिकको सहज आवतजावतलाई कायम राख्दै सीमा सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो । बैठकमा सीमा क्षेत्रमा हुनसक्ने तस्करी, अवैध आवतजावत तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान र स्थानीय तहमा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।

बैठकमा नेपाली पक्षबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुबहादुर भट्ट, वरिष्ठ प्रहरी उपरीक्षक कमलप्रसाद तिमल्सिना, प्रहरी उपरीक्षक भीमबहादुर बिष्ट, प्रहरी उपरीक्षक पंकज पौडेल, प्रहरी नायब उपरीक्षक खेमराज बोगटी र प्रहरी निरीक्षक श्रीराम घिसिङलगायतको सहभागिता थियो । त्यस्तै भारतीय पक्षबाट ४८औँ बटालियन एसएसबी जयनगरका द्वितीय इन कमान्ड तथा वरिष्ठ अधिकारी रजनिषकुमार मोरल, सहायक कमान्डेन्ट (इन्टेलिजेन्स) तथा थाना प्रभारी अङ्कुशकुमार र पिपरौनका सहायक कमान्डेन्ट धनञ्जय मिश्रलगायत सहभागी हुनुहुन्थ्यो । बैठकमा सीमा क्षेत्रमा शान्ति तथा सुरक्षा कायम राख्न नियमित सम्पर्क, आपसी समन्वय र सूचना आदानप्रदानलाई निरन्तरता दिने विषयमा दुवै पक्षले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार