मर्चवार । रुपन्देही रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा साँघुरा र जीर्ण सडकका कारण सवारी दुर्घटना एक भयावह समस्याको रूपमा देखा परेको छ। आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्कले यस क्षेत्रको सवारी सुरक्षा अवस्था अत्यन्तै चिन्ताजनक रहेको उजागर गरेको छ। गएको एक वर्षमा मात्रै यहाँ भएका ८५ वटा सवारी दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन् भने ११३ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय, मझगावाँ र मर्चवारको तथ्याङ्कअनुसार, मझगावाँ प्रहरीको कार्यक्षेत्रमा ५७ वटा दुर्घटना भएका थिए, जसमा एक जनाको मृत्यु भयो भने ७५ जना घाइते भए। त्यसैगरी, इलाका प्रहरी कार्यालय, मर्चवारको कार्यक्षेत्रमा २८ वटा दुर्घटनामा तीन जनाको ज्यान गएको छ र ३८ जना घाइते भएका छन्। प्रहरीका अनुसार, २०८१ साउन ४ गते ट्र्याक्टर, असोज १९ र फागुन ८ गते मोटरसाइकल तथा २०८२ असार १० गते बस दुर्घटनामा मानवीय क्षति भएको हो।
तीन गाउँपालिका र करिब डेढ लाख जनसंख्या बसोबास गर्ने मर्चवारमा सवारी साधनको चापको तुलनामा सडक अत्यन्तै साँघुरो र जीर्ण अवस्थामा छ। इलाका प्रहरी कार्यालय, मझगावाँका प्रमुख, प्रहरी निरीक्षक सन्तोष बस्यालले साँघुरा सडक, अत्यधिक सवारी चाप, तीव्र गति र ट्राफिक सचेतनाको कमीलाई दुर्घटनाका मुख्य कारणहरू मानेका छन् । उनले भने, "दुर्घटना न्यूनीकरणका लागि सरकार, सवारी चालक र सडक अतिक्रमण गर्ने व्यवसायी सबै जिम्मेवार हुनुपर्दछ।"
विशेषगरी बिहान १० बजेको समयमा मर्चवारका मुख्य बजारहरू जस्तै गोनहा, मर्यादपुर, मझगावाँ, परसहवाँ, र बेतकुइयाँमा विद्यालय र कार्यालय जानेहरूको भीडले ट्राफिक जाम हुने र दुर्घटनाको जोखिम बढाउने गरेको छ। यस क्षेत्रमा ५० सामुदायिक विद्यालय, ४१ निजी विद्यालय र ४० मदरसा सञ्चालनमा रहेकाले विद्यार्थी तथा कर्मचारीहरूको आवतजावत बाक्लो हुने गर्दछ।
विकासमा सधैँ पछाडि परेको यस क्षेत्रको दुर्दशाप्रति स्थानीय र जनप्रतिनिधि दुवैले चिन्ता व्यक्त गरेका छन्। लुम्बिनी प्रदेश सांसद कन्हैया बनियाले मर्चवार विकासमा उपेक्षित भएको र यहाँ जिम्मेवार कर्मचारीसमेत बस्न नरुचाउने प्रवृत्तिका कारण समस्या झनै जटिल बनेको स्वीकार गरे। "जिम्मेवार कर्मचारीहरू राती कोही बस्दैनन्," उनले भने।
स्थानीय अगुवा तथा सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका निवर्तमान अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीले व्यवस्था र सरकार फेरिए पनि मर्चवारको अवस्थामा सुधार नआएकोमा दुःख व्यक्त गरे। "स्वास्थ्य, शिक्षा, बिजुली र सडकजस्ता आधारभूत सुविधाहरू पनि हाम्रा लागि कल्पना जस्तै भएका छन्," उनले भने, "यो अवस्था अब फेरिनै पर्छ।"
उनका अनुसार, मर्चवार क्षेत्रलाई सदरमुकामसँग जोड्ने एकमात्र 'बेल्बास–खैरा' फोरलेन मुख्य सडकको निर्माणकार्य मर्यादपुरमै आएर रोकिएको छ। साँघुरो सडक र बढ्दो दुर्घटनाका कारण मर्चवारवासीका लागि सुरक्षित यात्रा एक सपना जस्तै बनेको छ, जसको समाधानका लागि सम्बन्धित निकायको तत्काल ध्यान जानु जरुरी देखिन्छ।