यसरी बिस्तार भयो भैरहवा क्षेत्रमा औद्योगिकरण

Ujyalosandeshonline 6416+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

भैरहवा– बि.सं. २०२२ मंसिर महिनादेखि भैरहवामा महेन्द्र सुगर मिल संचालनमा आएपछि अन्य व्यवसायीले पनि त्यसकै आसपासमा अन्य उद्योग संचालन गर्ने आँट गर्न थाले । २०२० कै दशकमा चामल मिल, छाला, फोम, रबर उद्योग, भाडावर्तन बनाउने स्टिल लगायतका अन्य उद्योग पनि क्रमशः स्थापना हुन थाले । हालको गल्लामण्डिदेखि एयरपोर्टबीचको क्षेत्रलाई ‘उद्योगपुरी’ भनेर नामाकरण गर्न थालियो । यो क्षेत्र नै पश्चिम तराईको पहिलो औद्योगिक करिडोरको इतिहास हो ।

महेन्द्र सुगर मिल नै समग्र पश्चिम तराई क्षेत्रको आधुनिक प्रबिधिको पहिलो ठूलो उद्योग थियो । जसले भैरहवामा उद्योग संचालन गर्ने आँट अन्य व्यवसायीलाई दियो र भैरहवालाई औद्योगिक सहरको नाममा रुपान्तरण गर्ने प्रेरणा दियो ।

अग्रवाल परिवारको भैरहवा आगमन

बि.सं. १९९० सालको महाभूकम्पले आफ्नो कारोवार र व्यवसाय तहसनहस पारेपछि बीरगंजदेखि बसाइँ र व्यवसाय स्थानान्तरण गर्दै नथमल र गौरीशंकर नामका दुई छोरालाई लिएर भैरहवा आइपुगेका थिए, राम बल्लभ अग्रवाल । भैरहवामा आएर सबैभन्दा पहिला व्यापार व्यवसाय सुरु गर्ने मारबाडी समुदायमा यो पुस्ता नै पहिलो भएको दावी गर्छन्, राम बल्लवका पनाती राजेशकुमार अग्रवाल ।

‘जिजु हजुरवुवा र हजुरवुवाहरु आउँदा भैरहवामा मुश्किलले पाँच–छ वटा मात्र घर रहेको र घोडा खच्चडलाई बोकाएर व्यापारिक सामान साप्ताहिक हाटबजारमा लाग्ने ठाउँमा पुर्याउँदै व्यवसाय सुरु गरेको बुवा–हजुरवुवाले सुनाउनुहुन्थ्यो’, प्रशिद्ध औद्योगिक घराना सिद्धार्थ समूहका संचालक तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका अग्रवालले भने, ‘पछि क्रमशः मारबाडीको अन्य समूह पनि व्यापारी र उद्योग व्यवासयामा कर्मचारीको रुपबाट भैरहवामा आगमन सुरु भयो ।’

अग्रवालका अनुसार, भैरहवा र आसपासका तराई क्षेत्र निकै उर्वर भूमि रहेकाले उंखु बाहेक गहुँ, धान, तोरी, मसुरो, अरहरको उत्पादन प्रशस्त हुने गथ्र्यो । मारवाडी समुदायको आगमन हुन थालेपछि भैरहवामा कृषिजन्य उत्पादनको प्रशोधन गर्ने उद्योगहरु स्थापनाको सुरुवात हुन थाल्यो ।

महेन्द्र सुगर मिल स्थापना हुनु पूर्व भैरहवादेखि पूर्वमा रहेको बसन्तपुरमा मारबाडी सुमदायले स्थापना गरेको ‘सत्य नारायण खांडसारी’ संचालनमा थियो । रामबल्लभ अग्रवालका छोरा गौरीशंकर अग्रवालले २०१८ सालमा यो उद्योग खोलेका थिए । डिजेल पम्पसेटबाट चल्ने यो उद्योगले त्यतिबेला १ सय बिघा आफ्नै जमिनमा उँखु खेती गरेर र आसपासका किसानको उँखु खरिद गरि भेलिबाट चिनी उत्पादन गथ्र्यो । धान गहुँका लागि कुटानीपिसानी गर्ने राइसमिल, खाने तेल मिल, दाल उद्योग स्थापना भइ स्वदेश र बिदेशमा बिक्री हुन्थ्यो । पूर्वमा चितवनको टाँडीदेखि पश्चिममा दाङको लमही र घोराहीसम्मका कृषि उपज भैरहवाका ति उद्योगमा आउँथे ।

‘त्यतिबेला चितवन, नवलपुर क्षेत्रदेखि पश्चिममा दाङसम्मको तोरी खरिद गर्ने र त्यसलाई पेलेर तेलको व्यापार भैरहवाबाट ठूलो परिमाणमा गर्ने सुरुवात हाम्रो वुवा र काकाले नै सुरुवात गर्नुभएको थियो’, नथमल अग्रवालका छोरा नारायणप्रसाद अग्रवालले भने, ‘हामीले उत्पादन गर्नु अगावै भारतबाट ठूलो परिमाणमा तोरीको तेल नेपाल आउने क्रम कमी हुँदै जान थाल्यो ।’

सिमाना पारी भारतको सुनौलीसम्म नै यातायातको सुविधा भएकाले उद्योगका लागि आवश्यक मेसिन र उपकरण ल्याउन सहज हुन्थ्यो । त्यतिबेला मेशिन तथा उपकरण बिग्रेमा तत्कालै भारतको सिमावर्ती बजारबाट मिस्त्री झिकाएर मर्मत गरिन्थ्यो । भैरहवामा उत्पादन भएका कृषिजन्य बस्तुको निर्यात भारतको मद्राससम्म हुने गरेको अग्रवाल बताउँछन् ।

भारत सरकारको सहयोगमा बि.सं. २०२१ सालदेखि सिद्धार्थराजमार्ग निर्माण सुरु हुन थालेपछि भैरहवा क्षेत्रमा औद्योगिकरणले अर्को फड्को मारेको थियो । खण्ड खण्डमा निर्माण अघि बढेको पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्ड बेलायत सरकारको सहयोगमा निर्माण भएपछि उद्योग धन्धा निर्माणले गती लिँदै जान थालेको हो । २०२० कै दशमा भैरहवामा पहिलो लुम्बिनी फ्लोर मिल संचालनमा आएको थियो । सिद्धार्थ राजमार्गसँग जोडिएको भैरहवादेखि बुटवल सडक खण्डमा उद्योगहरु स्थापना हुन थालेपछि ओद्योगिक करिडोरको रुप लिदै जान थालेको हो ।

पञ्चकन्या समूहको आगमन

इलाम र झापामा राइस मिल र काठ चिर्ने सःमिल लगायतका साना उद्योगमा सिमित रहेको पञ्चकन्या समूह अफ इण्डष्ट्रिजका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ औद्योगिक बिस्तार गर्ने क्रममा ४२ बर्ष अगाडि झापाको शनिश्चरेबाट भैरहवा आइपुगेका थिए ।

त्यो बेला मोरङमा एभरेष्ट आइरन र बाराको परवानीपुरमा हिमाल आइरनले स्टिल उत्पादन गरिरहेका थिए । पश्चिम क्षेत्रमा फलामको छड उत्पादन गर्ने कुनै पनि स्टिल उद्योग थिएन । स्टिल उद्योग उत्पादनमा पश्चिमको ‘भर्जिनल्यान्ड’ रहेको भैरहवामा पंचकन्याले स्टिल उद्योग स्थापना गर्ने निर्णय लियो ।

पंचकन्या समूहले २०३८ सालमा भैरहवादेखि उत्तर कोटिहवास्थित सिद्धार्थ राजमार्ग किनारामा पंचकन्या प्लाष्टिक इण्डष्ट्रिज प्रालिको स्थापना गरि भैरहवा क्षेत्रमा आफ्नो पहिलो उत्पादन २०४० देखि खानेपानीको लागि पाइपको सुरु गरेको थियो । यही समूहले उत्पादन बिस्तार गर्ने क्रममा पंचकन्या आइरन इण्डष्ट्रिज प्रालिको स्थापना गरि २०४० सालदेखि नै पंचकन्या फलामे छडको उत्पान सुरु गरेको हो । हाल पंचकन्या आइरनको ठाउँमा स्टिल्सको नाममाबाट छड उत्पादन गर्दे आएको छ ।

‘२०३८ सालमा २४ बर्षको उमेरमा म त्यतिबेला नारायणी नदीमा पुल नभएकाले नाउमा चढेर नदी पार गर्दै भैरहवा क्षेत्रमा आइ स्टिल उद्योग स्थापनाका लागि तयारीमा जुटेको थिएँ’, बिगतलाई स्मरण गर्दै श्रेष्ठले भने, ‘उद्योग संचालनका लागि भैरहवा क्षेत्र उपयुक्त ठानेर हाम्रो समूहले सर्वाधिक लगानीसहितको ठूलो उद्योग स्थापना गरेको हो ।’ कालान्तरमा पञ्चकन्याको प्रमुख औद्योगिक आधार नै भैरहवामा तयार भयो ।

श्रेष्ठको भनाइमा भैरहवा र आसपासको क्षेत्रमा पहिला धेरै आवादी नभएकाले जग्गा धेरै सस्तो मूल्यमा पाइने गथ्र्यो । भारतबाट औद्योगिक कच्चा पदार्थको आयात र उत्पादित सामान निर्यात गर्न पनि सहज र पायक पर्ने भैरहवा भन्सार नाका, सिद्धार्थ राजमार्ग र पूर्वपश्चिम राजमार्ग संचालनमा आएपछि उत्पादित सामान नेपाल भरि पुर्याउन सहजता, पहाडी जिल्लाबाट बढ्दो बसाइँसराइँका कारण मजदुरको उपलब्धता र भारतबाट दक्ष कामदार झिकाउन सहजता लगायतका कारणले भैरहवा औद्योगिक हव बन्न पुगेको हो ।

‘भैरहवा क्षेत्र मधेश आन्दोलन र भारतको नाकाबन्दीको वेलामा पनि निकै सुरक्षित रहेकाले ओद्योगिक लगानीलाई आकर्षित गर्न सफल बन्यो’, श्रेष्ठले भने, ‘अहिले पनि अन्यत्रका लगानीकर्ताको रोजाइमा भैरहवा क्षेत्र पहिलो नम्बरमा परेको छ ।’ त्यही अनुरुप उद्योगका लागि आवश्यक पूर्वाधार र औद्योगिक बातावरण तयार पार्न भने सरकारको ध्यान जान नसकेको गुनासो उनको छ ।

२०५० को दशकसम्म आइपुग्दा भैरहवा–बुटवल खण्डको सिद्धार्थराजमार्ग किनारामा ठूला खालका राइसमिल, मदिरा, बिस्कुट, फ्लोरमिल, सावुन, फलामे डण्डी, फोम –गद्दा), इँटा, कार्डवोर्ड, तेल, औषधि, दाल, जडिबुटीजन्य, प्लाष्टिक, काष्ठ, चिउरा, होजियारी, चप्पल, किलाकाटी लगायतका साना ठूला गरेर तीन दर्जन भन्दा धेरै उद्योग स्थापना भैसकेका थिए ।

आधुनिक चामल उद्योगको सुरुवात

उद्योग संचालनकै लागि २०३६ सालमा पोखराबाट भैरहवा आएका चन्द्रमान श्रेष्ठले भैरहवा–बुटवल बीचको भलवारीमा पहिलो स्वचालित सिद्धार्थ राइसमिल संचालनमा ल्याए । ‘त्यसभन्दा अघि यस क्षेत्रमा जेनेटरबाट चल्ने पुकपुके चामल उद्योग संचालनमा थिए’, उनले भने, ‘इञ्जिनबाट स्वचालित पहिलो आधुनिक र ठूलो चामल उद्योग मैले नै लगाएको हुँ ।’

यस उद्योगको जमिनसहित कुल लागत ९ लाख ६५ हजार रुपैयाँ थियो । साउन, भदौ र असोज महिना बेसिजन भएकाले त्यतिबेला उद्योग बन्द हुने गथ्र्यो । अन्यबेला एकजना मिस्त्री, तीनजना मिलमा काम गर्ने, ४ जना सरसफाई गर्ने र धान तौलने सार्ने पल्लेदार (मजदुर) १२–१५ जना कार्यरत हुन्थे ।

उनको भनाइमा, २०३२ सालमा तत्कालीन राजा बीरेन्द्रले मुलुकमा औद्योगिक बिकास गर्नका लागि औद्योगिक व्यवसाय ऐन ल्याए । उद्योग स्थापनाका लागि व्यवसायीलाई उत्साहित बनाउन र लगानीमा सहयोग गर्नका लागि नेपाल ओद्योगिक बिकास कर्पोरेशन (एनआइडीसी) को स्थापना भयो । औद्योगिक व्यवसाय ऐन अनुरुप उद्योगको मेसिन आयातमा भन्सार छुट र पाँच बर्षसम्म आयकर नलाग्ने, एनआइडीसीले लोन दिने लगायतका सुविधा उपलब्ध भएपछि धेरै व्यवसायी उद्योग लगाउनमा उत्साहित देखिए ।

व्यवसायीले कुन उद्योग कुन ठाउँमा लगाउने ? भनेर सम्भाव्यता अध्ययन गर्न थाले । यसका लागि नजिकमा भन्सार नाका, समथर भू–भाग, सडक बिजुली जस्ता पूर्वाधार उपलब्ध र भारतबाट मजदुर तथा मिस्त्री ल्याउन सकिने भएकाले भैरहवा क्षेत्र नै उद्योगका लागि धेरै व्यवसायीको रोजाइमा परेको हो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार