भैरहवा । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन र वातावरण संरक्षण गर्ने उद्देश्यले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा ल्याइएका अत्याधुनिक विद्युतीय बसहरू प्रयोगविहीन अवस्थामा थन्किएपछि अहिले ती बसहरू अन्य जिल्लामा पठाउने तयारी गरिएको छ ।
लुम्बिनी विकास कोष र नागरिक उड्डयन प्राधिकरणको यो तयारीप्रति स्थानीय स्तरमा चर्को विरोध र विवाद निम्तिएको छ। विशेषगरी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ती बसहरूलाई ‘सटल सेवा’का रूपमा सञ्चालन गर्ने प्रस्ताव राख्दासमेत त्यसलाई बेवास्ता गरिएको भन्दै सरोकारवालाहरू आक्रोशित बनेका हुन्।
लुम्बिनीका स्थानीय अर्जुन कुर्मीले लुम्बिनी जस्तो अन्तर्राष्ट्रिय महत्त्व बोकेको पर्यटकीय क्षेत्रका लागि ल्याइएका आधुनिक सवारी साधनलाई सोही क्षेत्रमा व्यवस्थित गर्नुको सट्टा अन्यत्र पठाउनु गलत भएको बताउनुभएको छ। उहाँले भैरहवा विमानस्थललाई प्राथमिकता नदिई राज्यले स्थानीय आवश्यकता र प्राथमिकतापछि हटेको आरोप लगाउनुभयो । कुर्मीले लुम्बिनीका बसहरू लुम्बिनीमै चल्नुपर्ने अडान राख्दै यसका लागि हदैसम्मको आन्दोलनमा जान तयार रहेको चेतावनीसमेत दिनुभएको छ ।
लुम्बिनी विकास कोषले पाँचवटा विद्युतीय बसहरू नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ, जुन हाल विमानस्थलको प्राङ्गणमा थन्किएका छन्। प्राधिकरणले ती पाँच बसमध्ये दुईवटा पोखरा तथा एक–एकवटा धनगढी, सुर्खेत र नेपालगञ्ज लैजाने तयारी गरेको छ।
विमानस्थलका महाप्रबन्धक श्याम किशोर साहका अनुसार अन्तर्राष्ट्रिय उडान सुरु हुनुअघि नै विमानस्थलले ती बसहरू माग गरेको भए पनि त्यतिबेला प्रक्रिया अगाडि बढ्न सकेको थिएन। तर अहिले विमानस्थलले सञ्चालन अनुमति पाएमा बसका सबै समस्याहरू मर्मत गरी सञ्चालन गर्न तयार रहेको उहाँले बताउनुभयो।
यसअघि पनि ती बसहरू काठमाडौँ लैजाने तयारी भएपछि स्थानीय स्तरमा ठुलो विरोध भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि सो प्रक्रिया रोकिएको थियो भने गत चैत १८ र १९ गते दुई दिनका लागि परीक्षण स्वरूप बेलहिया–लुम्बिनी र लुम्बिनी–तिलौराकोट रुटमा बस सञ्चालन गरिएको थियो। तर चैत २० गते विकास कोषले सबै बस प्राधिकरणलाई बुझाएपछि फेरि अन्योल सिर्जना भएको छ। लामो समयदेखि थन्किएका कारण बसहरूको अवस्था बिग्रिँदै गएको छ; सिसा फुटेका छन्, एसी बिग्रिएको छ र टायरहरू पुराना भइसकेका छन्।
विमानस्थलमा अस्थायी रूपमा बस चलाउँदै आउनुभएका गोपाल विश्वकर्माका अनुसार यी बसहरू अन्य सामान्य बसभन्दा निकै अत्याधुनिक र सुविधायुक्त छन्। १९ सिट क्षमता भएका यी बसमा ३५ जनासम्म उभिएर यात्रा गर्न सक्छन्। पूर्ण वातानुकूलित र अपाङ्गमैत्री यी बसहरू स्वचालित ढोका र आवाज रहित प्रविधियुक्त छन्। कार्डबाट स्टार्ट हुने यी बसहरू एकपटक फुल चार्ज गर्दा ४ सय किलोमिटर सम्म गुड्न सक्छन्। साथै, यात्रुको सुविधाका लागि सिटमै ‘बेल बटन’ र सुरक्षाका लागि आपत्कालीन ढोकाहरूको समेत व्यवस्था गरिएको छ।
वि.सं. २०७७ मंसिर–पुसमा ‘क्लिन इनर्जी प्रोजेक्ट’ अन्तर्गत करिब १३ करोड रुपैयाँको लागतमा ५ वटा बस र १४ वटा विद्युतीय भ्यान लुम्बिनी ल्याइएका थिए। तर सञ्चालन कार्यविधि, आवश्यक जनशक्ति र कानुनी अस्पष्टताका कारण यी करोडौँका सवारी साधन प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेका छैनन्। अहिले फेरि ती साधनलाई अन्यत्र बाँड्ने तयारीले लुम्बिनी क्षेत्रका बासिन्दा र सरोकारवालाहरूलाई आन्दोलित बनाएको छ।
Lumbani ma ne bus chalnu parxa yadi lumbani ma na che sakt aundholan garne hami badhe hunu parxa