लाखौँ खर्चेर गोष्ठी, खोलामा फोहोरको डङ्गुर : डम्पिङ साइट बन्दै बुद्धकालीन ‘रोहिणी नदी’

Ujyalosandeshonline 11543+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

भैरहवा । बुद्धकालीन गौरवमय इतिहास बोकेको रुपन्देहीको रोहिणी नदी स्थानीय तहको चरम लापरवाहीका कारण दुर्गन्धित बन्दै गएको छ । भैरहवा–परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिकाको प्रवेशद्वारमै फोहोरको डङ्गुर थुप्रिँदा लुम्बिनीबाट नवलपरासीतर्फ जाने पर्यटकहरू मुख छोपेर हिँड्न बाध्य भएका छन् । गाउँपालिकाले रोहिणी सभ्यताको विकास र विस्तारका नाममा वर्षेनी लाखौँ बजेट खर्चिए पनि नदी किनारमा फालिने फोहोर व्यवस्थापन गर्न नसक्दा ऐतिहासिक रोहिणी नदी कुरुप र प्रदूषित बन्दै गएको हो । यसै नदीको नामबाट गाउँपालिकाको नामकरण गरिए पनि यसको संरक्षण र सरसफाइमा भने स्थानीय सरकार पूर्ण रुपमा चुकेको छ ।

बुद्ध सम्बन्धी अध्येता बेचु गौंडका अनुसार रोहिणी खोला बुद्धकालीन समयदेखिको एक अत्यन्तै पवित्र स्थल हो । प्राचीन कोलिय राज्यको सीमा क्षेत्र रहेको यसै नदीको पानीको विवाद सुल्झाउन भगवान बुद्ध स्वयं उपस्थित भएर पहिलो पटक शान्तिको सन्देश दिएको ऐतिहासिक भूमि हो, रोहिणी । साथै, माता मायादेवीले यही नदीमा पुण्य दान गरेको हुनाले यसलाई बुद्ध धर्मसँग जोडिएको पवित्र तीर्थस्थल मानिन्छ । यस्तो गौरवमय इतिहास बोकेको नदी किनारमा कुखुराको भुत्ला र फोहोर फालिनु निन्दनीय भएको बताउँदै गौंडले फोहोर व्यवस्थापनका विकल्प हुँदाहुँदै नदीमा फोहोर फाल्नु गैरकानूनी र असंवैधानिक कार्य भएको टिप्पणी गर्नुभयो ।

नदीको ऐतिहासिक महत्व पढेर दर्शन गर्न पुग्ने पर्यटकहरू त्यहाँको दुर्दशा देखेर निराश भएर फर्किने गरेका छन् । रामग्रामको दर्शन गरी लुम्बिनी जाँदै गरेका भक्तपुरका पर्यटक प्रवेश थापाले किताबमा पढेको रोहिणी खोलाको अवस्था देख्दा आफू आश्चर्यमा परेको बताउनुभयो । खोलाको दर्शन गर्ने र फोटो खिच्ने उद्देश्यले त्यहाँ पुगेका उनले स्वागत गेटमै फोहोरको डङ्गुर देखेपछि दुःख व्यक्त गर्दै सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने माग गर्नुभयो । पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने क्षेत्रलाई फोहोरको अखडा बनाइनु दुर्भाग्यपूर्ण भएको स्थानीय र जानकारहरूको भनाइ छ ।

एकातिर गाउँपालिकाले नदीको सभ्यता खोज्ने र संरक्षण गर्ने भन्दै विभिन्न समयमा लाखौँ रुपैयाँ खर्च गरेर अन्तर्क्रिया र गोष्ठीहरू गर्दै आएको छ भने अर्कोतिर खोलामै फोहोर फालिँदा पनि ठोस कदम चाल्न सकेको छैन । यसबारे रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले फोहोर व्यवस्थापनको क्षेत्रमा अहिलेसम्म पर्याप्त काम हुन नसकेको स्वीकार गर्नुभयो । धकधई क्षेत्रको फोहोर व्यवस्थापनका लागि एक जनालाई जिम्मेवारी दिइएको बताउँदै उहाँले अन्य क्षेत्रका लागि भने भर्खरै गाउँपालिका अध्यक्षसँग छलफल भएको र बिस्तारै योजना बनाएर काम अगाडि बढाइने बताउनुभयो । गाउँपालिकाको यस्तो सुस्त कार्यशैली र ठोस योजनाको अभावमा बुद्धकालीन यो पवित्र नदी दिन प्रतिदिन आफ्नो अस्तित्व गुमाउने संकटमा पुगेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार