रुपन्देहीमा प्रहरीको तस्करी नियन्त्रण अभियान तीव्र, एक सातामै २७ लाखभन्दा बढीको अवैध सामान बरामद

Ujyalosandeshonline 11508+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

भैरहवा । रुपन्देही जिल्लामा प्रहरीले तस्करी नियन्त्रणमा आफ्नो सक्रियता बढाउँदै राजस्व संकलनमा उल्लेख्य सफलता हात पारेको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदिप बहादुर क्षेत्रीको आगमनसँगै थालिएको विशेष अभियानले एक साताभित्रै २७ लाख ५७ हजार ४९० रुपैयाँ बराबरको अवैध सामान बरामद गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय र यस मातहतका प्रहरी इकाईहरूले सीमा क्षेत्रमा निगरानी र कडाइ गरेपछि भन्सार छलेर नेपाल भित्र्याउन लागिएका ठूलो परिमाणका सामानहरू नियन्त्रणमा आएका हुन्। एसपी क्षेत्रीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र तस्करी नियन्त्रणमा कुनै पनि किसिमको सम्झौता नगरिने दृढता व्यक्त गरेका छन्। बरामद गरिएका सामानहरूमा लत्ताकपडा, किराना, इलेक्ट्रोनिक्स, सवारीसाधनका पार्टपुर्जा देखि ब्रोइलर कुखुरासम्म रहेका छन् ।

अभियानका क्रममा प्रहरीले साउन १० र ११ गते विभिन्न स्थानबाट ८ लाख २९ हजार १०० रुपैयाँ बराबरको ब्रोइलर कुखुरा, लत्ताकपडा, काजु, चिनी र मोटरसाइकलका पार्टपुर्जा बरामद गरेको थियो। सोही क्रममा सिद्धार्थनगरका मोहम्मद रिजवानलाई एक मोटरसाइकल सहित पक्राउ गरिएको थियो । त्यसैगरी, साउन १२ गते ४ लाख १७ हजार ९०० रुपैयाँ बराबरको मल, चिनी, साडी र कुर्ता बरामद गरी तस्करीमा संलग्न नवलपरासीका अलिशेर अन्सारीलाई नियन्त्रणमा लिइयो ।

प्रहरीले आफ्नो सक्रियतालाई थप बढाउँदै साउन १२ र १३ गते ६ लाख ५९ हजार ८४० रुपैयाँ बराबरको काजु, चिनी, पर्दा, कस्मेटिक लगायतका सामान बरामद ग¥यो र यसमा संलग्न लुम्बिनी सांस्कृतिक नगरपालिकाका अजय कुमार अग्रहरी पक्राउ परे । अभियानकै एक अनौठो घटनामा, साउन १३ गते सिद्धार्थनगरको भुजौलीबाट १ लाख ४ हजार ६५० रुपैयाँ बराबरका कृष्ण र विष्णु भगवानका ३८७ वटा मूर्तिहरू पनि बरामद गरिए । साताको अन्त्यमा, साउन १५ र १६ गते, जिल्लाका विभिन्न स्थानबाट ७ लाख ४६ हजार रुपैयाँ बराबरका किराना, कपडा, जुत्ता र सफ्ट ड्रिङ्क्स जस्ता तस्करीका सामान नियन्त्रणमा लिइएको थियो ।

नेपाल प्रहरीको यो कदमको स्थानीय बासिन्दाहरूले खुलेर प्रशंसा गरेका छन् । उनीहरूले सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले पनि यस्तै कडाइ गर्ने हो भने अवैध सामानको आयातमा उल्लेख्य कमी आउने सुझाव दिएका छन् ।

बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया र पशु क्वारेन्टाइन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले सीमा क्षेत्रमा हुने सबै प्रकारका अवैध गतिविधिमाथि शून्य सहनशीलता अपनाउँदै कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । उल्लेखनीय छ कि रुपन्देही प्रहरीले गत आर्थिक वर्ष २०८०/८१ मा १२ करोड ६७ लाख ७१ हजार ७७९ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी तस्करीमा संलग्न ११३ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कृष्ण चन्द्र मिश्र १९ श्रावण २०८२, आइतबार

तस्करी नियन्त्रण त सराहनीय हाे तर नेपाल सरकारले कृषकलाई मल उपलब्ध गराउन नसक्दा मल समातेर कृषकलाई दुःख पुर्‍याउनु गलत हाे ।

कृष्ण चन्द्र मिश्र १९ श्रावण २०८२, आइतबार

तस्करी नियन्त्रण त सराहनीय हाे तर नेपाल सरकारले कृषकलाई मल उपलब्ध गराउन नसक्दा मल समातेर कृषकलाई दुःख पुर्‍याउनु गलत हाे ।

कृष्ण चन्द्र मिश्र १९ श्रावण २०८२, आइतबार

तस्करी नियन्त्रण त सराहनीय हाे तर नेपाल सरकारले कृषकलाई मल उपलब्ध गराउन नसक्दा मल समातेर कृषकलाई दुःख पुर्‍याउनु गलत हाे ।

हिरा बहादुर खत्री १९ श्रावण २०८२, आइतबार

धेरै राम्रो , सबैखाले प्रभाव र दबाब बाट मुक्त रहेर यो कार्यले निरन्तरता पाउन सकोस । साथ , सहकार्य र सहयोगको प्रतिबद्धता सहित शुभकामना ! जय नेपाल !

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार