काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन गरेको छ । कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका सन्दर्भमा यसअघि नै पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो । उक्त निर्णयअनुसार महाधिवेशनका विभिन्न समितिबीच समन्वय, सहजीकरण तथा व्यवस्थापनका विषयमा आवश्यक निर्णय गर्न १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरिएको हो ।
सभापति थापाको संयोजकत्वमा रहेको केन्द्रीय निर्देशन समितिमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य रहनुभएको छ । उक्त समितिको सदस्यसचिव र प्रमुख राजनीतिक सल्लाहकारमा प्रताप पौडेललाई तोकिएको छ । त्यस्तै, महाधिवेशन व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठलाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
यसैगरी, सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे रहनुभएको छ भने समितिमा केन्द्रीय सदस्यद्वय हरिशरण नेपाली र अजयबाबु शिवाकोटी, डा सुरेश आचार्य, शिव लम्साल, अनिता विन्दु, मोहन गजुरेल र शशाङ्कश्री न्यौपाने रहनुभएको छ । सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणालाई तोकिएको छ । उक्त समितिमा केन्द्रीय सदस्य नानु वास्तोला, प्रकाश पन्थ, मुना भुषाल, निपा चोखाल, ममता शर्मा, जानकी गुरुङ, डा सङ्गिता कार्की कुँवरलगायत रहनुभएको छ । उक्त समितिमा काठमाडौँ, ललितपुर र भक्तपुरका प्रतिनिधिसहित प्रत्येक प्रदेशबाट प्रदेश सभापतिको परामर्शमा एक–एक जना सदस्य रहने व्यवस्था गरिएको छ ।
त्यसैगरी, अतिथि स्वागत समितिको संयोजकमा सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्त हुनुहुन्छ । महाधिवेशन समारोहस्थल व्यवस्थापन समितिको संयोजकमा काठमाडौँ जिल्ला सभापति तथा प्रदेश र स्थानीय तहगत समन्वय समितिको संयोजकमा सहमहामन्त्री बहादुरसिंह लामा तोकिनुभएको छ । यस्तै, जेष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजकमा सुधीर शिवाकोटी र स्वयम्सेवक व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य गणेश लामालाई तोकिएको छ ।
भोजन व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य तिलक रानाभाट, आवास व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेशप्रसाद धमला, स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य डा केदारनरसिंह केसी र यातायात व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य विजयबहादुर स्वाँरलाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । सांस्कृतिक–साहित्यिक संयोजन समितिको संयोजकमा केन्द्रीय सदस्य सिता गुरुङ रहनुभएको छ ।
उक्त समितिमा नेपाल सांस्कृतिक महासङ्घ र नेपाली लेखक सङ्घका अध्यक्षसहित दुर्गा रायमाझी, प्रकाश लामिछाने र विपिन किरण सदस्य रहनुभएको छ । यसैगरी, विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसले महाधिवेशनसँग सम्बन्धित सबै समितिले आ–आफ्नो कार्यविवरणअनुसार प्रभावकारी रूपमा काम गर्ने र आपसी समन्वयमार्फत १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले समिति गठन गरिएको जनाएको छ ।