अर्घाखाँची । अर्घाखाँचीकाे मालारानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६२ करोड ९२ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष दीपा पोखरेलद्वारा प्रस्तुत उक्त बजेटमा चालु खर्चतर्फ ४५ करोड ७१ लाख २९ हजार र पुँजीगत खर्चतर्फ १७ करोड २१ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
‘कृषि, पर्यटन र सहकारीः समृद्ध मालारानी’ भन्ने मूल नारासहितको यो बजेट दीर्घकालीन सोचमा आधारित रहेको जनाइएको छ । गाउँपालिकाले कृषि, पशुपालन, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, वातावरण, सूचना प्रविधि, सुशासन र सामाजिक समावेशीकरणजस्ता विषयहरूमा विशेष प्राथमिकता दिएको छ। समावेशी, सशक्त र आत्मनिर्भर मालारानी निर्माण गर्ने लक्ष्य लिएको उल्लेख छ ।
आर्थिक विकास
कृषि तथा पशुपालन क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले १ करोड ७९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। व्यावसायिक कृषकहरूलाई ७० प्रतिशत लागत साझेदारीमा अनुदान दिइनेछ। बाख्रा, गाई, भैसी, बोका वितरण, बीउपाठी प्रवर्द्धन, आलु पकेट कार्यक्रम, हाते ट्याक्टर, मिनी मिल, भेटेरिनरी सेवा सबलीकरण, सिँचाइका लागि पाइप वितरण, पर्यटन प्रवर्द्धनका लागि गाइड तालिम, टुरिस्ट म्याप, भगवती मन्दिरको पूर्वाधार निर्माण, सन्तुला फल खेती जस्ता कार्यक्रम समेटिएका छन्।
सामाजिक विकास
७ करोड ३७ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको सामाजिक क्षेत्रमा दीर्घरोगीका लागि निःशुल्क औषधि, मातृ तथा नवजात सेवा, ल्याब सेवा विस्तार, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन, औषधि आपूर्ति, क्षयरोग न्यूनीकरण, एचआईभी संक्रमितका लागि सहयोग, रक्त सञ्चार, गर्भपतन सेवा, क्याल्सियम चक्की वितरण, ल्याब मर्मत, शौचालय तथा खानेपानी विस्तारलगायत कार्यक्रम समावेश छन्।
शिक्षा र खेलकुद
विद्यालय पाठ्यक्रम विकास, परीक्षा व्यवस्थापन, छात्रवृत्ति, पोषणयुक्त खाजा, विज्ञान तथा प्राविधिक धार सञ्चालन, शिक्षक व्यवस्थापन तथा पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको छ। ‘हाम्रो मालारानी’ नामक स्थानीय पाठ्यक्रम, शिक्षक तालिम, शैक्षिक अनुगमन र मूल्याङ्कन सशक्तिकरण तथा विभिन्न खेलकुद कार्यक्रम पनि बजेटमा परेका छन्।
पूर्वाधार विकास
६ करोड ३० लाख रुपैयाँको बजेटमा मोटरबाटो स्तरोन्नति, विद्यालय भवन निर्माण, झोलुङ्गे पुल निर्माण, टोल विकास संस्था सक्रियता तथा सिमेन्ट पाता वितरण लगायत योजना समावेश छन्। संघ र प्रदेशसँग साझेदारीमा बृहत् पूर्वाधार निर्माणमा लागत साझेदारीमा योजना अघि बढाइने जनाइएको छ ।
वन, वातावरण र विपद् व्यवस्थापन
५८ लाख रुपैयाँ विनियोजन गरिएको यो क्षेत्र अन्तरगत हरियाली प्रवर्द्धन, पहिरो नियन्त्रण, सडक सुरक्षा, विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूल योजना कार्यान्वयन गरिनेछ ।
संस्थागत विकास तथा सुशासन
८ करोड ५२ लाख ५० हजार रुपैयाँको बजेट सूचना प्रविधि प्रवर्द्धन, इन्टरनेट पहुँच विस्तार, डिजिटल सूचना डिस्प्ले बोर्ड, सार्वजनिक सुनुवाइ, एकीकृत घुम्ती शिविर, कर्मचारी क्षमता अभिवृद्धि तथा प्रविधिमैत्री सेवा विस्तारमा खर्च गरिनेछ ।
वडास्तरीय कार्यक्रम
९ वटै वडाका लागि १ करोड ५७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। प्रत्येक वडाको प्राथमिकता र आवश्यकतालाई ध्यानमा राखी योजना छनोट, कार्यान्वयन र अनुगमन गरिनेछ ।
सामाजिक समावेशीकरण
महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका, भूमिहीन, सुकुम्बासी र सीमान्तकृत समुदायका लागि विशेष कार्यक्रम सञ्चालित हुनेछन्। उपाध्यक्ष साहारा योजना, विपद् पीडित सहयोग कार्यक्रम, संस्कृति संरक्षण तथा चाडपर्व प्रवर्द्धनका कार्यक्रम बजेटमा समावेश छन् ।
आम्दानीको स्रोत
बजेटका लागि समानीकरण अनुदानबाट ११ करोड ३६ लाख ७२ हजार, राजस्व बाँडफाँडबाट ९ करोड ९७ लाख १६ हजार, सशर्त अनुदानबाट ३५ करोड ५१ लाख, विशेष अनुदानबाट ८७ लाख र आन्तरिक स्रोतबाट ३ करोड २३ लाख ६२ हजार ८ सय ५ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
गएको वर्षको तुलनामा यो बजेट व्यावहारिक र सन्तुलित रहेको बताइएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा ७२.३२ प्रतिशत बजेट खर्च भइसकेको, आन्तरिक राजस्व लक्ष्यभन्दा १२ लाख बढी संकलन भएको, ८८७२ जना दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गरिएको तथा समावेशी विकास सूचकांकमा उल्लेखनीय प्रगति भएको उल्लेख छ ।
यद्यपि, संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदानमा कटौती, आन्तरिक आयको सीमितता, कानुनी जटिलता र योजना कार्यान्वयनको दोहोरोपन जस्ता चुनौती विद्यमान रहेको स्वीकार गरिएको छ । ती चुनौतीहरूलाई सम्बोधन गर्दै स्रोतको न्यायोचित उपयोग, पारदर्शिता र उत्तरदायित्वका साथ समृद्ध मालारानी निर्माण गरिने प्रतिबद्धता जनाइएको छ ।
उपाध्यक्ष दीपा पोखरेलले स्रोतको सीमितता हुँदाहुँदै पनि आवश्यकता, प्राथमिकता र सहभागिताका आधारमा बजेट निर्माण गरिएको बताउनुभयो । समावेशी, समृद्ध र सुशासित मालारानी निर्माण गर्ने लक्ष्यसहित बजेट प्रस्तुत गरिएको उहाँको भनाइ थियो ।
अध्यक्ष दलबहादुर भट्टराईले प्रस्तुत बजेटले समृद्ध मालारानी गाउँपालिका निर्माणको दिशामा सार्थक कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेट स्थानीय आवश्यकतामा आधारित, जनसहभागिता मूलक र लक्षित वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने खालको भएको उल्लेख गर्नुभयो ।
"यस बजेटमार्फत हामीले नागरिकलाई गुणस्तरीय सेवा, व्यावसायिक तथा प्राविधिक शिक्षा, आधुनिक कृषि प्रविधि, पूर्वाधारको स्तरोन्नति र आत्मनिर्भर अर्थतन्त्रको मार्गमा अगाडि बढाउने लक्ष्य लिएका छौं," अध्यक्ष भट्टराईले भन्नुभयो, "नीति, योजना र कार्यान्वयनको त्रिकोणात्मक सम्बन्ध बलियो बनाएर सबै सरोकारवाला निकायको सहकार्यमा गाउँपालिकाको समुन्नत र दिगो विकास सम्भव छ ।"
उहाँले संस्थागत क्षमता अभिवृद्धि, पारदर्शी प्रशासन, र जनउत्तरदायी स्थानीय शासन प्रणाली स्थापनाका लागि यो बजेट उत्प्रेरक बन्ने पनि स्पष्ट पार्नुभयो । प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बजेट कार्यान्वयनमा छरितोपन, पारदर्शिता र प्रविधिमैत्री प्रणालीलाई बलियो बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले नीति तथा कार्यक्रमसँग समन्वय गर्दै प्रत्येक योजना योजनाबद्ध रूपमा कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।
"हामीले दीगो विकासको अवधारणा अनुरूप पञ्चवर्षीय योजनाको मार्गदर्शनमा वार्षिक बजेटलाई स्थानीय आवश्यकता र उपलब्ध स्रोतसँग मेल खाउने गरी तयार पारेका छौं," उहाँले भन्नुभयो, "सेवाप्रवाहको गुणस्तरमा सुधार ल्याउने, नागरिकको विश्वास बढाउने र समावेशी विकास सूचकांकमा अझ उल्लेखनीय प्रगति गर्ने हाम्रो प्रमुख लक्ष्य हो ।"