भैरहवा । लुम्बिनी विकास कोषका कर्मचारीहरुले विभिन्न माग राख्दै दुई हप्तादेखि गरेको आन्दोलनका कारण कोषको कामकाज ठप्प भएको छ । कोष कर्मचारी युनियनले चार बुँदे माग प्रस्तुत गर्दै साउन १२ गतेदेखि कार्यालयमा तालाबन्दी गरेर धर्नामा बसेका छन् ।
कर्मचारी युनियनले सञ्चित बिदा, कोष भत्ता र महँगी भत्ता उपलब्ध गराउनु पर्ने मुख्य माग राखेको छ । यसका साथै, कर्मचारी विनियमावली–०७९ लाई संशोधन गरी उमेरको हदबन्दी नलाग्ने गरी सीमित प्रतिस्पर्धात्मक परीक्षाद्वारा हाल करारमा रहेका सबै कर्मचारीलाई स्थायी पदपूर्ति गरिनुपर्ने उनीहरुको माग छ । दरबन्दी शीघ्र स्वीकृत गराई सबै कर्मचारीलाई स्थायी गर्नुपर्ने र विनियमावली अनुसार स्थायी कर्मचारीको पद बढुवा हुनुपर्ने माग पनि अघि सारिएको छ ।
आन्दोलनको कार्यक्रम अन्तर्गत कर्मचारीहरुले साउन ५ गते ज्ञापनपत्र बुझाएका थिए भने साउन ८ र ९ गते हातमा कालोपट्टि बाँधेर काम गरेका थिए । माग पूरा नभएपछि उनीहरुले कामकाज ठप्प पारेका हुन् । युनियनका अध्यक्ष अब्दुल ओफा मुसलमानले पदाधिकारीहरु वार्ताका लागि नआएको र मागहरुको सम्बोधन नभएमा संग्रहालय, मुख्य प्रवेशद्वार र टिकट काउन्टरमा समेत तालाबन्दी गरी आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् । आन्दोलन जारी रहँदा कोषका अधिकांश उच्च पदाधिकारीहरु भने काठमाडौंमा रहेका छन् । यो आन्दोलनले गर्दा कोषको प्रशासनिक काम र अन्य विकास निर्माणका कामहरु प्रभावित भएका छन् ।