भैरहवा । बाढी, पहिरो र अन्य विपद्का कारण सडक यातायात अवरुद्ध भएपछि रुपन्देहीको भैरहवा क्षेत्रमा अलपत्र परेका यात्रुहरूका लागि नेपाल एयरलाइन्सले उद्धार उडानको घोषणा गरेको छ। नेपाल वायुसेवा निगमले सोमबार (आज) दिउँसो काठमाडौंबाट भैरहवा र भैरहवाबाट काठमाडौंका लागि चार्टर्ड उडान सञ्चालन गर्ने जनाएको छ।
निगमद्वारा जारी सूचना अनुसार, काठमाडौंबाट भैरहवाका लागि दिउँसो १ बजे उडान हुनेछ भने भैरहवाबाट काठमाडौंका लागि २:४५ बजे उडान तालिका तय गरिएको छ। यस उडानका लागि निगमले भाडादर समेत तोकेको छ। काठमाडौं-भैरहवाको भाडा ५ हजार रुपैयाँ र भैरहवा-काठमाडौंको भाडा ७ हजार रुपैयाँ निर्धारण गरिएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोद सिंह राउतले दिएको जानकारी अनुसार, अलपत्र परेका यात्रुहरू, बिरामी र वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई लक्षित गरी यो उडान गर्न लागिएको हो। १५८ सिट क्षमताको एयरबस ३२० जहाजबाट यो विशेष उडान सञ्चालन गरिनेछ। यसअघि आज राति ९ बजेका लागि तय भएको उडान प्राविधिक कारणवश रोकिएको थियो। अब सोमबार दिउँसोको उडानले धेरै यात्रुहरूलाई राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।