नवलपरासी । बर्दघाट नगरपालिका -१ मा अवस्थित बाल्मिकी माध्यमिक विद्यालयले नगरमै पहिलोपटक अपाङ्गता भएका बालबालिकाहरूका लागि समावेशी शिक्षाको थालनी गरेको छ। अपाङ्गताको क्षेत्रमा सक्रिय संस्था सहयात्री नेपालसँगको समन्वयमा यो महत्वपूर्ण कार्यक्रम सुरु गरिएको विद्यालयकी प्रधानाध्यापक रामकुमारी उपाध्यायले जानकारी दिनुभयो ।
सहयात्री नेपालकी अध्यक्ष तिलकुमारी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम शिक्षक अर्जुन रिमालले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा -१ का अध्यक्ष सन्दीप सापकोटा, बर्दघाट नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका धनपत्ति पौडेल, सहयात्री नेपालका सल्लाहकार संयोजक दामोदर जिसी, दाउन्ने देवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तपचन्द्र प्रयासी, रोटरी क्लब अफ नवलपरासीका सुमन गोपाल आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरका कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिका अगाडि बढेको बताउनुभयो। उहाँले नगरले भौतिक संरचना निर्माणमा लगानी गरी सहयात्री नेपालसँग सहकार्य गर्दै अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा जोड दिएको उल्लेख गर्नुभयो।
नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले अपाङ्गता भएका बालबालिकाहरूको भविष्य उज्ज्वल बनाउने कार्यमा सहयात्री नेपालले गरेको प्रयासको प्रशंसा गर्नुभयो। सहयात्री नेपालले बर्दघाट-१४ का १० जना र अन्य १७ जना गरी कुल २७ जना अपाङ्गता भएका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न "सामा" नामक संस्थाको सहयोगमा बाल्मिकी माध्यमिक विद्यालयमा यो कार्यक्रम सुरु गरेको हो।
विद्यालयकी प्रधानाध्यापक उपाध्यायका अनुसार, शारीरिक, दृष्टि, श्रवण, बौद्धिक, बहु-अपाङ्गता र बोलाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाहरूका लागि तालिम प्राप्त शिक्षक र छुट्टै कक्षाकोठाको व्यवस्था गरिएको छ। बाल्मिकी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायामाझीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमले नगरको शैक्षिक क्षेत्रमा नयाँ आयाम थपेको छ।