सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती

Ujyalosandeshonline 12236+ समाचार ( )
२१ भाद्र २०८३, आइतबार

कपिलवस्तु । सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गर्नुभएको छ । करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा सुरु गरिएको खेतीबाट उहाँले हालसम्म तीन पटक फल उत्पादन गरिसक्नुभएको छ । रुपन्देहीको रानीबगियाबाट ६२८ बिरुवा खरिद गरी १५७ पोलमा चार–चार वटा बिरुवा रोपेर खेती सुरु गरिएको बेलवासेले बताउनुभयो ।

उहाँले प्रतिबिरुवा रु १६० का दरले खरिद गर्नुभएको हो । बिरुवा अझै पूर्ण रूपमा परिपक्व नभएकाले उत्पादन बढ्न केही समय लाग्ने उहाँको भनाइ छ । “अहिलेसम्म तीन पटक फल टिपेका छौँ । चौथो पटक फल टिप्ने तयारीमा छौँ । आगामी वर्षदेखि उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेको छु,” उहाँले भन्नुभयो । ड्रागन फ्रुटको बजार राम्रो भएकाले बिक्रीका लागि समस्या नरहेको बेलवासेले बताउनुभयो । उहाँका अनुसार अहिले प्रतिकिलोग्राम रु ४०० सम्ममा बिक्री भइरहेको छ । फल उत्पादन भएपछि ग्राहकहरू घरमै आएर खरिद गर्ने गरेको उहाँले बताउनुभयो ।

युट्युबबाट खेतीसम्बन्धी जानकारी लिएर नयाँ बालीतर्फ आकर्षित भएको बताउँदै बेलवासेले सिँचाइको अभावलाई खेतीको मुख्य चुनौतीका रूपमा लिनुभएको छ । रोग तथा कीरा व्यवस्थापनका लागि थप प्राविधिक ज्ञान आवश्यक रहेको उहाँको भनाइ छ । चितवनको हावापानी ड्रागन फ्रुट खेतीका लागि बढी अनुकूल मानिए पनि कपिलवस्तुमा उचित व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिने उहाँले बताउनुभयो । जिल्लामा अत्यधिक गर्मी हुने भएकाले भने खेती व्यवस्थापनमा केही कठिनाइ हुने गरेको उहाँको अनुभव छ ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीले जिल्लामा ड्रागन फ्रुट खेतीको क्षेत्रफलसम्बन्धी यकिन अभिलेख नरहे पनि साना तथा छरिएर खेती सुरु हुन थालेको बताउनुभयो । व्यावसायिक सम्भावना, राम्रो बजार र आकर्षक मूल्यका कारण किसानमा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । परम्परागत बालीसँगै नयाँ तथा बढी आम्दानी दिन सक्ने फलफूल खेतीतर्फ किसान आकर्षित हुन थालेसँगै कपिलवस्तुमा ड्रागन फ्रुट खेतीले पनि विस्तारको सम्भावना देखाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार