ओमसतिया तेश्रो अध्यक्ष कप
ओमसतिया तेश्रो अध्यक्ष कप सुरु

Ujyalosandeshonline 11144+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

भैरहवा । ओमसतिया गाउँपालिका स्तरिय तेश्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा ओमसतिया वडा नम्बर ६ ले वडा नम्बर २ लाई ५ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर २ ले निर्धारित १२ ओभरको खेलमा ९२ रन मात्र बनाउन सकेको थियो । वडा नम्बर २ का लागि बादल छन्त्यालले सर्वाधिक २२ रन बनाउदा अजय यादवले ११ रन र विकास यादवले १० रन जोडे । 

बलिङमा वडा नम्बर ६ का शेखर चौधरीले ४ विकेट, नितेश वरुण र किशोर यादवले समान २÷२ विकेट लिए । ९३ रनको लक्ष्य सहित मैदान छिरेको वडा नम्बर ६ ले ९ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गरेको थियो । वडा नम्बर ६ का लागि रवि यादवले सर्वाधिक ४४ रन बनाए । कृष्ण पासीले १७ रन बनाए । 

बलिङमा वडा नम्बर २ का अभिषेकले २ विकेट लिए । 

यसै गरि शुक्रबार नै सम्पन्न दोश्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर १ लाई ५८ रनले हराएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको वडा नम्बर ३ ले १२३ रन बनाएको थियो । १२४ रनको लक्ष्य पाएको वडा नम्बर १ भने ६५ रनमै अलआउट भएको खेल संयोजक मनोज यादवले जानकारी दिए । 

शुक्रबार नै सम्पन्न तेश्रो खेलमा भने वर्षा बाधक बन्दा वडा नम्बर ४ र वडा नम्बर ५ ले समान एक÷एक अंक बाडेका छन् । टस जितेर ब्याटिङ गरेको वडा नम्बर ४ ले ११५ रन बनाउदा अर्को टिम खेल्न नपाउदै पानी परेकोले अंक बाडिएको संयोजक मनोज यादवले जानकारी दिए । 

ओमतिया गाउँपालिकाका ६ वटा वडाबाट एक÷एक टिम र पालिकाको कर्मचारीको २ टिम गरि जम्मा ८ टिम सहभागी प्रतियोगितामा २ समूहमा बिभाजित गरिएको यादवले बताए । दुबै समूहको शिर्ष २ टोली सेमी फाईनलको लागि प्रवेश गर्नेछ । ओमतियाको कर्मडाँडा मैदानमा जारी प्रतियोगिताको फाइनल खेल ७ गते हुनेछ । विजेता टोलीले ६० हजार नगद संगै कप र उपविजेताले ३० हजार र कप प्राप्त गर्नेछ । अनुशासित टोलीले १० हजार, मेन अफ द सिरिज ५ हजार र शिल्ड, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले जनही २ हजार ५ सय रुपैयाका दरले पुरस्कार पाउने छन् । 

यस अघि उदघाटन कार्यक्रममा बोल्दै ओमतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले पालिकाका युवाहरुलाई खेलकुदमा रुचि जगाउन, दुव्र्यसनबाट जोगाउन र क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरिएको बताए । उनले ओमसतिया गाउँपालिकाबाट शक्ति गौचन लगायत अन्र्तराष्ट्रिय स्तरकै खेलाडीहरु उत्पादन भएको हुदा पालिका क्रिकेट खेलको उर्बर भूमिको रुपमा रहेको बताए । पालिकामा खेल मैदानको अभाव भएको हुदा भविष्यमा खेल मैदानको पहिचान गरि त्यसलाई विकास गर्ने र भएको खेलमैदानहरुको स्तरोन्नती गर्न पालिका प्रतिवद्ध रहेको बताए । 

उदघाटन कार्यक्रममा ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बराल, वडा नम्बर २ का वडा अध्यक्ष शितल जिटी, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेल, वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवल, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी लगायतको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया

सम्बन्धित समाचार