भैरहवा । भैरहवा भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको फागुनसम्ममा १४ खर्ब ४७ करोडबराबरको आयात व्यापार भएको छ। यो लक्ष्यको ५५ दशमलव २६ प्रतिशत हो । कार्यालयका प्रमुख एवं मुख्य भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार कार्यालयलाई विभागले वार्षिक राजस्व संकलनको लागी १ खर्ब ९ अर्ब ३३ करोड रुपैयाँ लक्ष्य तोकेको छ। फागुन मसान्तसम्म ६० अर्ब ४१ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको हो।
फागुनसम्मको संकलन अघिल्लो आवको तुलनामा १५ दशमलव ४४ प्रतिशत बढी छ। अहिले मासिक औसतमा ८५ दशमलव ७० प्रतिशतका दरले राजस्व संकलन भइरहेको छ। अबको बाँकी महिनामा अरु लक्ष्य पूरा गर्ने प्रयासमा भन्सार प्रशासन लागेको मुख्य अधिकृत रेग्मीले बताए।
भैरहवा भन्सार कार्यालयको लक्ष्य ८ महिनाको ७० अर्ब ४९ करोड ६१ लाख थियो। जसमा अहिलेसम्म ६० अर्ब ४१ करोड संकलन भएको छ। विगतका वर्षहरुको तुलनामा राजस्व संकलमा सुधार भएको तथ्यांकले देखाएको छ। समग्र देशका भन्सार राजस्व संकलनमा कार्यालयको योगदान अहिले सबैभन्दा अघि रहेको रेग्मीले बताए ।
फागुनमा सार्वजनिक बिदाहरु अलि धेरै भएकोले राजस्व संकलन केही कम भएको हो। अब बाँकी चार महिनामा लक्ष्य पूरा हुने गरी काम हुने उनको भनाई छ । कार्यालयले साउनमा ७ अर्ब ३२ करोड, भदौमा ८ अर्ब ९२ करोड, असोजमा ८ अर्ब ८१ करोड, कात्तिकमा ७ अर्ब १२ करोड, मंसिरमा ६ अर्ब ९६ करोड, पुसमा ६ अर्ब ८६ करोड, माघमा ७ अर्ब १४ करोड र फागुनमा ७ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
भैरहवा नाका हुँदै आयात हुने सामानमा सबैभन्दा बढी राजस्व मोटरसाइकलबाट प्राप्त भएको छ। मोटरसाइकल आयातकर्ता कम्पनीहरुले कुल १० अर्ब ९३ करोड रुपैयाँ राजस्व बुझाएका छन्। त्यसैगरी दोस्रो स्थानमा इन्धनबाट चल्ने जीप, कार भ्यानहरु रहेका छन् । यी साधनको आयातबाट ६ अर्ब ३९ करोड रुपैयाँ राजस्व उठेको छ।
तेस्रो स्थानमा पेट्रोल रहेको छ। पेट्रोल आयात हुँदा २ अर्ब ५१ करोड रुपैयाँ राजस्व उठेको छ। त्यसपछि क्रमश बढी राजस्व बुझाउने आयातित समानहरुमा चौथो स्थानमा विद्युतबाट सञ्चालित जीप कार र भ्यानहरु, पाँचौमा शुद्ध फलाम र फ्रेस आइरन, छैठौमा डबल क्याव पिकअप गाडी, सातौंमा मोबाइल टेलिफोन, आठौंमा चकलेट, नवौंमा एमएस विलेट र दशौंमा टायल रहेका छन् ।
यी मुख्य १० बस्तु आयात हुँदा ८ महिनामा २८ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको हो । फागुनसम्ममा यो नाकाबाट कुल १४ खर्ब ४७ करोड मूल्यका सामान आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ।