भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ भानुपथमा अवस्थित शैक्षिक संस्था भानु माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरी स्वर्ण महोत्सव–२०८२ भव्य रुपमा मनाएको छ । वि.सं. २०३३ फागुन ९ गते ‘भानु प्रा.वि’ का रुपमा स्थापना भएको विद्यालय आज कक्षा १२ सम्म अध्ययन–अध्यापन सञ्चालन गर्ने पूर्ण माध्यमिक विद्यालयका रुपमा स्थापित भएको छ ।
विद्यालयका प्रधानअध्यापक मोतीलाल सुवेदीका अनुसार विद्यालयले कठौतिया गाउँबाट विद्यार्थी भर्नासँगै पठनपाठन सुरु गरेको थियो । विभिन्न स्थान हुँदै हालको स्थायी भवनसम्म आइपुग्दा विद्यालयले अनेक चुनौती पार गर्दै शैक्षिक उन्नतिको यात्रा तय गरेको छ ।
सरकारी स्वीकृतिको क्रमअनुसार कक्षा १ बाट सुरु भई क्रमशः कक्षा ५ सम्म, त्यसपछि निमावि र मावि तहमा स्तरोन्नति भएको विद्यालयले २०५२ माघमा स्थायी स्वीकृति र चार शिक्षक दरबन्दी प्राप्त गरेको थियो । २०७६ सालमा कक्षा ११ र १२ सञ्चालनको स्वीकृति प्राप्त गरी हाल कानून, व्यवस्थापन र शिक्षा संकायमा पठनपाठन भइरहेको सुवेदीले बताए । यद्यपि कक्षा ११–१२ तर्फ हालसम्म कुनै स्थायी दरबन्दी वा नियमित आर्थिक सहयोग प्राप्त हुन नसकेको विद्यालय प्रशासनले जनाएको छ ।
पछिल्लो चार वर्षदेखि अंग्रेजी माध्यम कक्षा सञ्चालनमा ल्याइएको छ । हाल कक्षा ३ सम्म र कक्षा ६–७ मा अंग्रेजी माध्यम सञ्चालनमा रहेको छ भने यसलाई क्रमशः कक्षा १२ सम्म विस्तार गर्ने योजना रहेको प्रधानाध्यापक मोतीलाल सुवेदीले जानकारी दिए ।
विद्यालय स्थापना कालमा तत्कालीन वडा अध्यक्ष स्वर्गीय चेतनारायण खरेलको अगुवाइ तथा संस्थापक प्रधानाध्यापक वैकुण्ठ प्रसाद लम्सालको नेतृत्वमा शैक्षिक यात्रा प्रारम्भ भएको थियो । त्यसयता वैकुण्ठ प्रसाद लम्साल, भीम प्रसाद लामिछाने, उमानाथ खनाल, तेज प्रसाद पाण्डे, बलराम शर्मा र उमाशंकर त्रिपाठीले प्रधानाध्यापक वा निमित्त प्रधानाध्यापकका रुपमा नेतृत्व सम्हालेका छन् ।
विद्यालयले पाँच दशकको अवधिमा भौतिक संरचना विस्तारमा उल्लेखनीय प्रगति गरेको छ । पुरानो दुईतले १२ कोठे भवन अझै प्रयोगमा रहेको छ । पुस्तकालयसहित अध्ययन कक्ष, क्यान्टिन, चौकीदार आवास तथा स्टोरका लागि छुट्टाछुट्टै भवन प्रयोगमा छन् ।
आर्थिक वर्ष २०७६/०७७ मा तत्कालीन सांसद घनश्याम भुसालको पहलमा संघीय सांसद विकास कोषबाट ५० लाख रुपैयाँ, २०७७/०७८ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट १७ लाख ५० हजार रुपैयाँ तथा २०७८/०७९ मा तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलको पहलमा राष्ट्रिय योजना आयोगमार्फत १ करोड ६६ लाख रुपैयाँ विनियोजन भई पाँच तले आधुनिक भवन निर्माण गरिएको सुवेदीले बताए । उक्त भवनमा १२ कोठा, सभाहल, विज्ञान र कम्प्युटर प्रयोगशाला सञ्चालनमा छन् ।
भवन निर्माणपश्चात बचेको बजेटबाट ढलाइ बाटो, १८४ सेट डेक्स–बेन्च र बालबालिकाका लागि ३८ साना डेक्स निर्माण गरिएको थियो । चालु आर्थिक वर्ष २०८२/०८३ मा लुम्बिनी प्रदेश सरकारबाट ६ लाख ४० हजार रुपैयाँमा कार्यालय प्रयोजनका लागि थप संरचना निर्माण गरिएको छ ।
विद्यालय परिसरमा रहेको ‘भानु पार्क’ विद्यालयको विशेष आकर्षण हो । पार्कमा आदिकवि भानुभक्त आचार्यको अर्धकद शालिक स्थापना गरिएको छ। प्रत्येक असार २ गते भानु जयन्तीका अवसरमा सिद्धार्थ साहित्य परिषद्को अगुवाइमा साहित्यकारहरूद्वारा नगर परिक्रमा तथा माल्यार्पण कार्यक्रम आयोजना हुँदै आएको छ ।
स्थापनादेखि नै पर्याप्त दरबन्दी अभावका कारण निजी स्रोतका अस्थायी, करार तथा आंशिक शिक्षकहरुको सहयोगमा पठनपाठन सञ्चालन हुँदै आएको छ । उच्च योग्यता भएका शिक्षकहरूलाई माथिल्लो तहमा अध्यापन गराउँदै शिक्षण–सिकाइलाई प्रभावकारी बनाइएको सुवेदीको भनाई थियो ।
विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा विद्यालयको भौतिक संरचना विस्तार, प्रविधिमैत्री शिक्षण पद्धति, परीक्षा परिणाममा सुधार, अतिरिक्त क्रियाकलापमा सक्रियता तथा सामुदायिक सहकार्यका उपलब्धिहरू उल्लेख गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले गरेका थिए । समारोहका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले विद्यालयले पाँच दशकसम्म निरन्तर शिक्षा सेवा दिँदै क्षेत्रको शैक्षिक इतिहासमा विशिष्ट स्थान बनाएको उल्लेख गरे । उनले सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षण र प्रविधि विस्तारमा नगरपालिका प्रतिबद्ध रहेको बताउँदै आगामी वर्षहरूमा आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।
विशिष्ट अतिथि उप प्रमुख उमा अधिकारीले महिला शिक्षा प्रवद्र्धन, छात्राहरूको सहभागिता वृद्धि तथा सूचना प्रविधि आधारित शिक्षण अभ्यासमा विद्यालयले देखाएको अग्रसरताको प्रशंसा गरिन ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा लामो समय सेवा पुर्याउने शिक्षक तथा कर्मचारी, उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थी र विद्यालयलाई सहयोग पुर्याउने चन्दादाता, पत्रकारहरुलाई दोसल्ला, प्रमाणपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
विद्यार्थीहरूले राष्ट्रिय गीत, देशभक्ति कविता, नृत्य, सांस्कृतिक झाँकी तथा स्थानीय परम्परा झल्किने प्रस्तुति दिएका थिए ।