भैरहवा । साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा अन्तर्गत शुक्रबार भएका दुई खेलमध्ये पहिलो खेलमा प्यारामाउण्ट कलेज र दोस्रो खेलमा होराइजन जीबीएस विजयी भएको छ । प्यारामाउण्टले न्यु होराइजन (बी) टिममाथि १० विकेटको सानदार जित हात पार्दा होराइजन जीबीएसले साई ग्लोबल (ए) टिमलाई ४३ रनले हरायो ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा जितका लागि पाएको ४७ रनको झिनो लक्ष्य प्यारामाउण्टले ४ ओभर १ बलमा विनाक्षति ५० रन बनाउँदै पूरा गर्यो र सानदार जित निकाल्यो । उसका लागि ऋषभ बेल्बासेले अविजित ३० र ड्रस सुनारले नटआउट १९ रन बनाए । बलिङमा न्यु होराइजन (बी) का कुनै पनि खेलाडीले विकेट लिन सकेनन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजन (बी)ले मौसमका कारण ७ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाएर जम्मा ४६ रन बनाएको थियो । उसका लागि निश्चल ज्ञवालीले १६ र रन्जित मौर्यले १० रन बनाए पनि अन्य ब्याटर नचल्दा टिमले हार व्यहोर्यो । बलिङमा प्यारामाउण्टका सन्देश थापाले ३ तथा तुलबहादुर थापा र सागर गैह्रेले १–१ विकेट लिए । खेलमा सन्देश थापा प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजन जीबीएसले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ४२ रन बनायो । उसका लागि आरिफ खानले ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, चन्दन राजपुतले २७ र विप्रसन केसीले २५ रनको योगदान गरे । बलिङमा साई ग्लोबलका अभिषेक पासीले ३ तथा अर्जोय पोखरेल र अजय चौहानले १–१ विकेट लिए ।
साई ग्लोबलले जवाफी ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा जम्मा ९९ रन बनायो र हार व्यहोर्यो । उसका लागि अविजित ज्ञवालीले १६, अजयकुमार चौहान, राहुल ढाडी र अभिषेक पासीले समान १४ रन तथा निरज चाईले १२ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा होराइजन जीबीएसका सुनिल लोध, अन्सु चौधरी र विप्रसन केसीले २–२ तथा सहज अर्या र आरिफ खानले १–१ विकेट हात पारे । खेलमा आरिफ खान प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ हात पारे ।
रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।