काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति ३(क) मा महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा उम्मेदवारी घोषणा

Ujyalosandeshonline 12405+ समाचार ( )
१० अशोज २०८३, शनिबार

भैरहवा  । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीको प्रदेशसभा क्षेत्र नं. ३(क) क्षेत्रीय कार्यसमितिको सभापति पदमा महेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन  ।

शनिबार भैरहवामा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा श्रेष्ठको नेतृत्वमा पदाधिकारीसहित कार्यसमितिका उम्मेदवार सार्वजनिक गरिएको हो । घोषित उम्मेदवारअनुसार उपसभापतिमा सुनिलराज विष्ट, सचिवमा हुमलाल पौडेल तथा सहसचिवमा विनिता श्रेष्ठ र गोकुल यादवले उम्मेदवारी दिएका छन ।

प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्वका लागि उम्मेदवारी घोषणा भएसँगै नेपाली कांग्रेसको स्थानीय संगठनभित्र निर्वाचनको माहोलसमेत तातेको छ । उम्मेदवारहरूले पार्टीको विधान, संगठन सुदृढीकरण र कार्यकर्ताको भूमिकालाई प्रभावकारी बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्र नं. ३(क) को निर्वाचन असोज ११ गते भैरहवामा हुने जनाइएको छ । निर्वाचनबाट सभापतिसहित पदाधिकारी तथा कार्यसमितिका सदस्य चयन हुनेछन् ।

स्थानीय तहदेखि प्रदेशसभा क्षेत्रीय तहसम्म नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै रुपन्देहीमा कांग्रेसको आन्तरिक राजनीतिक प्रतिस्पर्धा पनि तीव्र बन्दै गएको छ । पछिल्लो समय विभिन्न तहका अधिवेशनमा देखिएको प्रतिस्पर्धाले पार्टीभित्र नयाँ नेतृत्वका आकांक्षीहरू सक्रिय भएका छन् । आगामी निर्वाचनले प्रदेशसभा क्षेत्र नं. ३(क) मा पार्टी संगठनको नेतृत्व कसरी अघि बढ्छ भन्ने निर्धारण गर्नेछ ।

‘गगन थापा नै हाम्रो सभापति हो, सबै एकजुट भएर लाग्नुपर्छ’ : रामकृष्ण खाण

नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सभापति रामकृष्ण खाणले पार्टीलाई बलियो, संगठित र गतिशील बनाउन आपसी एकताका साथ अघि बढ्नुपर्ने बताएका छन ।  उनले कारबाहीमा परेका वा विभिन्न कारणले पार्टीभन्दा बाहिर रहेका नेता–कार्यकर्तालाई समेत समेटेर कांग्रेसलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै खाणले कांग्रेसभित्र नयाँ ऊर्जा र गतिशीलता आवश्यक रहेको बताए । उनले सभापतिका उम्मेदवार श्रेष्ठ सफल व्यवसायी हुनुका साथै सिद्धार्थनगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष भएर विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको उल्लेख गरे । श्रेष्ठको उम्मेदवारीले पार्टी संगठनमा नयाँ ऊर्जा र शक्ति थपिएको उनको भनाइ थियो ।

कांग्रेस युवाहरूको पार्टी भएको उल्लेख गर्दै खाणले महामन्त्री गगन थापालाई पार्टीको मूल नेतृत्वका रूपमा प्रस्तुत गरे  । उनले भने, “गगन थापा हाम्रो सभापति हो । १५औँ महाधिवेशनमा हामी जो जहाँबाट गए पनि भोट हाल्ने गगन थापालाई नै हो र उहाँलाई नै विजयी गराउने हो । त्यसैले विशेष वा नियमित महाधिवेशन भनेर कुरा काट्नुको कुनै अर्थ छैन ।”

सिद्धार्थनगर रुपन्देहीको दोस्रो ठूलो शहर तथा सदरमुकाम भएकाले यहाँको कांग्रेस संगठनलाई चलायमान र गतिशील बनाउन सके त्यसको प्रभाव सिङ्गो जिल्लाको संगठनमा पर्ने उनले बताए । खाणले महेन्द्रकुमार श्रेष्ठ नेतृत्वको प्यानललाई अत्यधिक मतले विजयी गराउन नेता–कार्यकर्तालाई आग्रह गरे ।

‘कांग्रेसलाई निष्कलंक र संगठित बनाएर लैजान्छु’ : श्रेष्ठ

सभापति पदका उम्मेदवार महेन्द्रकुमार श्रेष्ठले पार्टीभित्र देखिएका विकृति, भ्रष्टाचार र नातावादको अन्त्य गर्दै कांग्रेसलाई नयाँ दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले निष्ठावान् तथा क्रियाशील कार्यकर्तालाई उपेक्षा गर्ने प्रवृत्तिको अन्त्य गर्दै आफू सदैव कार्यकर्ताको पक्षमा उभिने बताए । विगतमा आफूले निष्कलंक भएर काम गरेको दाबी गर्दै श्रेष्ठले आगामी दिनमा पनि कुनै भेदभाव नगरी सबैलाई समेटेर संगठन निर्माण गर्ने प्रतिबद्धता जनाए ।

“नेपाली कांग्रेसको धरातल र जरा कमजोर भएकाले आज पार्टीमा खडेरीको अवस्था आएको हो,” उनले भने “युवा तथा साना कार्यकर्तालाई नेतृत्वको मञ्चमा व्यवस्थापन गर्दै पार्टीको जग बलियो बनाउनु आजको आवश्यकता हो ।”

श्रेष्ठले आफ्नो टिममा अनुभवी, सक्षम र निष्ठावान् व्यक्तिहरूलाई समेटिएको बताए  । उनका अनुसार उपसभापतिका उम्मेदवार सुनिलराज विष्टले विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका छन भने सचिवका उम्मेदवार हुमलाल पौडेलसँग तिलोत्तमा नगरपालिकामा काम गरेको अनुभव छ । सहसचिवमा विनिता श्रेष्ठ र गोकुल यादव उम्मेदवार छन ।

समावेशी प्रतिनिधित्वलाई ध्यान दिँदै महिला तथा विभिन्न क्षेत्रका प्रतिनिधिलाई समेत टिममा समेटिएको श्रेष्ठले बताए  ।

निजी तथा व्यावसायिक क्षेत्रबाट पार्टी राजनीतिमा आएको उल्लेख गर्दै उनले आफू बोलीभन्दा काममा विश्वास गर्ने व्यक्ति भएको बताए । आफूले कार्यकर्ताको अपेक्षाअनुसार काम गर्न नसके जुनसुकै बेला पद त्याग गर्न तयार रहेको उल्लेख गर्दै श्रेष्ठले आफ्नो काम र विगतको योगदानको आधारमा मूल्याङ्कन गरेर समर्थन गर्न आग्रह गरे  ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार