मासिदै भैरहवाको रैथाने हाटबजार, मुकदर्शक स्थानिय तह

एलिना आचार्य 1+ समाचार ( )
२८ वैशाख २०८१, शुक्रबार

भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नं १३ का निवासी अरुण कुमार श्रेष्ठ कृही समय यता तनावमा छन् । श्रेष्ठ तनावग्रस्त हुनुमा एउटा मात्र कारण छ भैरहवाको अव्यवस्थित हाटजबजार । श्रेष्ठको घर भैरहवा हाटबजार सडकमा छ । हप्ताको दुइ दिन उनकै घर अगाडी अस्तव्यस्त बजार लाग्छ । 

श्रेष्ठले कृषि बजार भनेर बनाएको भवन खालि राखेर अव्यवस्थित ठाउमा बजार लाउने काम नगरपालिकाले गरेको बताउछन् । श्रेष्ठ भन्छन्,“नगरपालिकाको असफलतानै करोडौंको यो खाली संरचना हो ।”

श्रेष्ठ जस्तै पिडित छिन् सिद्धार्थनगर नगरपालिका वडा नं ५ को निवासी लक्ष्मी गिरी । सिद्धार्थनगर नगरपालिका वडा नं १३ र ५ को सिमानामा दुवै वडामा लाग्ने अव्यवस्थित बजारले लक्ष्मीलाई हप्ताको दुई दिन त्रासमा राख्ने गरेको छ । लक्ष्मी भन्छिन् बजार अव्यवस्थित हुदा सडकमै जताततै व्यवसायीहरुले दोकान थाप्ने गर्छन्, भिडभाड हुन्छ जसकारण चोरि लगायतको घटना हुन सक्ने त्रास भइरहन्छ । उनले नगरपालिकाले सहुलियत दरमा भाडा लगाएर भएपनि कृषि बजार संचालनमा ल्याउनुपर्ने बताइन् । 

सिद्धार्थनगर नगरपालिकामा तरकारी बजार ब्यवस्थित हुन नसक्दा उपभोक्ता र तरकारी बिक्रेताले सास्ती बेहोर्नुपरेको छ । नगरपालिकाको सबैभन्दा पुरानो बजार वडा नं ५ र १३ मा पर्ने हाटबजार र दैनिक लाग्ने बजार वडा नं ८ मा रहेको मायादेवी तरकारी तथा फलफुल बजार दुई बजार हुन् । विक्रम सम्वत १९९० सालभन्दा अगाडि स्थापित हाटबजार रुपन्देही जिल्लाकै पुरानो बजार हो । तरकारी किन–बेच हुन यहाँ आइतबार र बिहिवार साप्ताहिक हाट लाग्छ । मायादेवी बजारमा दैनिक रुपमा फलफुल तथा तरकारी किनबेच हुन्छ । तर पछिल्लो समय यी दुई बजार व्यवस्थित रुपमा संचालन हुन सकेका छैनन् । 

हाटबजारलाई अत्याधुनिक स्तरको तरकारी बजारको रुपमा रुपान्तरण गर्न नगरपालिकाले भवन निर्माणको काम गरिरहेको छ । २०७६ जेठ १९ गते सम्झौता गरेर निर्माण कार्य शुरु भइ अहिले ब्लक ए को भवन बजार संचालनको तयारी अवस्थामा छ भने २०७९ असार १६ मा निर्माण कार्य शुरु भएको ब्लक बि को भवन भने अधुरो छ । नगरपालिकाका इन्जिनियर साकार श्रेष्ठले नगरपालिकाको निर्माणाधिन सामुदायिक कृषि बजारको ब्लक बि को भवन निर्माण कम्पनीले काम नगरेपछि अहिले दैनिक रुपमा ८१ हजार ९ सय ८ रुपैया जरिवाना लाग्ने गरि म्याद थप गरिएको बताए । 

सिद्धार्थ नगरपालिका उपमेयर उमा अधिकारीले असोज महिना सम्ममा उक्त भवन संचालनमा ल्याउने गरी पहल भइरहेको बताईन् । हाटबजारको एउटा भवन निर्माण भएपनि नगरपालिकाले भाडामा लाउन सकेको छैन । १२ करोड १३ लाख ३६ हजार ५ सय ८७ रुपैयामा निर्माण भएको कृषि बजार अहिले संचालनमा नआउदा सिद्धार्थनगर नगरपालिकाको ९० बर्ष भन्दा पुरानो बजार मासिने जोखिम बढेको छ । 

अर्को तर्फ कृषि बजारको दोस्रो भवन (ब्लक बि) निर्माण कम्पनी बिकाश ब्रदर्स, आत्रेय र बस्नेत जेभी बानेश्वर काठमाडौंले अलपत्र छोड्दा कृषि बजारले पूर्णता पाउने कुरामै शंका खडा भएको छ । हाटबजार संचालनमा नआउदा स्थानियहरुको नगरपालिका प्रतिको आक्रोश बढेर जान थालेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं १३ का स्थानिय बिजय गोविन्द श्रेष्ठले नगरपालिकाले जिल्लाकै पुरानो बजार मासेर भवन बनाएपनि भाडामा लगाउन असफल भएको गुनासो गर्छन् । नगरपालिका वडा नं ५ को स्थानिय सरोज तामाङले कृषि बजारलाई पुर्णता दिन नगरपालिकाले चासो दिनुपर्ने बताए ।

नगरपालिकाले प्राथमकिता दिएर करोडौं लगानी गरेको कृषि बजार संचालनमा आउन सकेको छैन । अहिले हाटबजारको सडकनै ओगटेर बजार लाग्ने गरेको छ । नगरपालिकाले सडकमै बजार लाग्दा पनि कुनै व्यवस्थापन गर्न सकेको छैन । नगरपालिकाले सामुदायिक कृषि बजारको ब्लक ए को भवन भाडामा लगाउन २०७९ पुस ५ गते सुचना निकालेर भवनमा रहेको १ सय ९ वटा सटरहरु र सेमिनार हल तथा पार्किङको लागी करिव १ करोड ३४ लाख रुपैयाको टेण्डर निकालेको थियो । तर टेण्डर लिन कसैले चासो नदेखाएपछि अहिले यो बिषयनै अन्योलमा परेका छ ।

अर्को तर्फ नगरपालिकामा रहेको मायादेवी तरकारी तथा फलफुल बजार भने अहिले यति धेरै अव्यवस्थित बनेको छ कि अहिले वर्षामा जान लायक हुदैन । बजारमा खाल्डोमा पानी जम्मा भएर बसेको हुन्छ जसमाथी झिङ्गा उड्ने गर्छन । तरकारी र फोहरहरु जथाभावी फाल्ने गरिएको छ । शौचालयको राम्रो व्यवस्था पनि रहेको छैन । 

सिद्धार्थनगर नगरपालिका वडा नं ९ का स्थानिय टोपा गिरीले मायादेवी तरकारी तथा फलफुल बजारको अवस्था दयनिय रहेको बताईन् । गिरीले बजारमा फोहर व्यवस्थापन नभएको, पार्किङको व्यवस्था नरहेको, शौचालय नभएको लगायत समस्या रहेको जानकारी दिईन् । यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं १ का स्थानिय दिपक थापाले मायादेवी बजारको दुर्दशा हेर्दा बजारनै आउन मन नलाग्ने गरेको बताए । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार स्थानिय तह भित्र रहेको बजार व्यवस्थापन गर्नु नगरपालिकाको कर्तव्य हो तर सिद्धार्थनगर नगरपालिका अहिले आफ्नो कर्तव्य बाटनै टाढा भागिरहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार