भैरहवा । विश्व शान्ति दिवसको अवसरमा शनिबार भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय मेगा शुन्य रिट्रीट कार्यक्रमको आयोजना गरिएको छ ।
शुन्यति अन्र्तराष्ट्रिय फाउण्डेशन (एसआईएफ) को आयोजनामा भएको मेगा रिट्रिटमा ध्यानको माध्यमबाट सुख र शान्तीको अनुभूति गराउन र गौतमबुद्धको शिक्षालाई विश्वमा फैलाउने उद्देश्य सहित गरिएको हो । कार्यक्रममा नेपाल र भारतका गरि ६ हजार भन्दा बढी सहभागी रहेको आयोजकले लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेशनका निर्देशक डा. राजेश सवेराले गौतमबुद्धलाई भगवान नभई गुरु मानेको बताए ।“जसले हामीलाई यो सिकाउनुभयो ज्ञान नै तपाईको दुखहरुको मुक्तिको मार्ग हो । ज्ञानको लागि ध्यान पद्दतीको पनि उहाँले विकास गर्नुभयो । ध्यानले मानिसलाई सधै समृद्धिको मार्ग पाईने कुरा पनि बताउनुभयो ।” सवेराले भने “र यहि कुरालाई सिकाउनको लागि हामीले लुम्बिनीमा यो कार्यक्रमको आयोजना गरेका हौ ।”
भगवान बुद्धका सन्देश र उपदेशबाट परिचित हुन, भगवान बुद्धका उपदेश र सन्देशबाट विश्वभर शान्ति र समृद्धिको प्रवर्द्धन गर्न र भारत र नेपालको साझा संस्कृतिलाई ध्यानमा जोड्न यो कार्यक्रमको आयोजना गरिएको डा.सवेराले बताए । कार्यक्रममा भारत र नेपालका हजारौंले शुन्यव्यास मार्फत ध्यान गरेका थिए । कार्यक्रमका सहभागीहरुले ध्यान र साधनाका आधारभूत क्रियाकलापहरू जुनसुकै जात, धर्म, सबैले ध्यान गर्नुपर्छ भन्ने जानकारी लिएका थिए ।
ध्यानले आनन्द ल्याउनु पर्छ । यदि ध्यानले सुख दिँदैन भने त्यो ध्यान होइन भन्ने डा. सवेराको भनाई छ । एसआईएफले लुम्बिनीको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा शून्य रिट्रिट कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै ध्यानाचार्य नागजीवले आफ्नो अनलाइन सन्देशमार्फत भगवान बुद्धलाई शिक्षक र गुरु मानेको बताए । “हामीले बुद्धका सन्देशहरूमा मनन गर्नुपर्छ । जसमा हामी सुखको अनुभूति गर्छौं ।” उनले भने
कार्यक्रममा शुन्यता अभ्यास र भगवान बुद्धको उपदेश र सन्देशको प्रसार गर्दै संस्थाका निर्देशक तथा मार्गदर्शक आयुर्वेदिक चिकित्सा तथा फिजियोथेरापिस्ट डा राजेश सवेराले शुन्यताको ध्यानाकर्षण गर्दा आफूभित्र शान्ति र आनन्द प्राप्त हुने बताए ।
विश्वमा शान्ति र समृद्धिको प्रवद्र्धन गर्न बुद्धका सन्देश र शिक्षालाई आत्मसात गरी शून्यताको ध्यान गर्नु महत्वपूर्ण भएको उनले बताए । कार्यक्रममा नेपाल र भारतका करिब ६ हजार जनाको सहभागिता रहेको थियो भने विश्वका ४० देशमा प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।
समग्रमा चौथो रिट्रिट रहे पनि लुम्बिनीमा गरिएको यो दोश्रो रिट्रिट कार्यक्रम हो । बाँकी २ वटा रिट्रिट कार्यक्रम भारतको बोधगयामा गरिएको थियो । कार्यक्रमलाई निरन्तरता दिदै आगामी वर्षहरुमा अझै बढी र उत्साहजनक सहभागीता सहित कार्यक्रम गरिने आयोजकले जनाए ।