भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले गण्डकी प्रदेशलाई २८९ रनको लक्ष्य दिएको छ भने कर्णाली प्रदेशले कोशी प्रदेलाई २१९ रनको लक्ष्य दिएको छ ।
भैरहवा स्थित सिद्धार्थ त्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८८ रन बनाएको छ । बागमतीका लागि ईशान पाण्डे, शुभ कंसाकार र विपिन आचार्यले अर्धशतक प्रहार गरेका छन् । ईशानले ८२ बलमा ६ चौकाको सहयोगमा ६९ रन बनाउदा शुभले भने ५१ बलमा ९ चौका प्रहार गर्दै ५२ रन बनाए । यसैगरि ४२ बल खेलेका विपिन आचार्य ७ चौका र २ छक्काको सहयोगमा अविजित ६३ रन बनाए । विवेक मगरले ३४ रन, र रिजन ढकालले अविजित २३ बनाए ।
बलिङमा गण्डकीका अर्जुन कुमालले ४ विकेट, विपिन क्षेत्री र सुवास भण्डारीले समान २/२ विकेट लिए ।
मंगलबार सम्पन्न अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई २१९ रनको लक्ष्य दिएको छ । रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितर ब्याटिङ रोजेको कर्णालीले ९ विकेट गुमाउदै २१८ रन बनाएको छ ।
कर्णालीका लागि अर्जुन घर्तिले ९५ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै अविजित ८८ रन बनाए । यस्तै हिमांशु शाहीले ४६ रन, निश्चल रावलले २०, प्रकाश जैसीले १८ रन बनाए ।
बलिङमा कोशी प्रदेशका विपिन महतोले ३ विकेट लिए भने दिपेश कंडेल र प्रकाश कार्कीले समान २/२ विकेट लिए । श्रवण किस्कु र सुजन थपलियाको नाममा १/१ विकेट रह्यो ।
प्रतियोगितामा ४ खेल खेलेको गण्डकी १ मा जित र ३ मा हार गरि २ अंक लिएर अंकतालिकामा पाचौं स्थानमा रहेको छ भने ४ खेल खेलेको बागमती पनि १ मा जित र ३ मा हार गरि २ अंक लिएर अंकतालिकामा नवौं स्थानमा रहेको छ । यस्तै ४ खेल खेलेको कर्णाली १ मा जित र ३ मा हार गरि २ अंक लिएर अंकतालिकामा आठौं स्थानमा रहेको छ भने ५ खेल खेलेको काशी १ मा जित र ४ मा हार गरि २ अंक लिएर अंकतालिकाको सातौं स्थानमा रहेको छ ।