रुपन्देहीका प्रशासक र व्यवसायीको उदाहरणिय काम

राधेश्याम विश्वकर्मा 45+ समाचार ( )
२५ आषाढ २०८१, मङ्गलबार

भैरहवा । रुपन्देहीका प्रशासक र व्यवसायीले यस्तो उदाहरिणय काम गरेका छन् । जुन लामो समय सम्म सम्झनामा रहिरहने छ । संसारमा अहिले पनि मानवता हराएको छैन भन्ने यो घटनाले पुष्टि गर्दछ । 

सन २०१८ मा रुपन्देही कन्चन गाउँपालिका वडा नम्बर ४ का दुर्गा प्रसाद शर्मा र धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ बस्ने राम आशिष यादव दुवै जना साउदी अरबमा एउटै कम्पनीमा काम गर्थेे । एउटै कम्पनीमा हुदा दुवै जनाको कोठा पनि एउटै थियो । खाने रमाउने एउटै थलो थियो । यसै क्रममा २०१८ को अक्टोबर ६ मा कोठामै रमाईरहेकै अवस्थामा धनुषाका राम आशिष यादवले रुपन्देहीका दुर्गा प्रसाद शर्माको छुरा प्रहार गरि हत्या गरे ।

साउदीको ताबुक क्रिमिनल कोर्टले सन २०२० को २० डिसेम्बरमा हत्या गरेको प्रमाणित गर्दै राम आशिष यादवलाई तत्कालको लागि ५ बर्षको कैद सजायको फैसला ग¥यो । ५ वर्ष पछि दुवै जनाको परिवारको विचमा “ब्लड मनि” मा स्म्झौता भए ठिक अन्यथा अन्तिम विकल्प फासीमा जाने अदालतको फैसला थियो । 

साउदीमा रामआशिषले मान्छे मारेको र जेलमा रहेको कुरा थाहा पाए पछि जनकपुरमा रहेकी उनकी श्रीमति रेनो कुमारीमाथि वज्रपात भयो । विपन्न आर्थिक अवश्थाकी रेनो जेनतेन आफ्नो तीन छोरीहरु सहित आफ्नो गुजारा गर्दै आईरहेकी थिईन । उनको आर्थिक अवश्था कति दयनिय थियो भने, पैसाकै अभावमा उनि आफ्ना ३ वटै छोरीहरुलाई विद्यालय समेत पठाउन सकेकी छैनिन् । उनको १८ वर्षिय आरती यादव, १५ वर्षिय पूजा यादव र १० वर्षिय सन्जु यादव गरि तीन छोरीहरु रहेका छन् । 

अदालतले ब्लड मनि तिरे रामआशिष छुट्न सक्ने झिनो आशा देखाएको थियो । उता अदालतको निर्णय कन्सुलर विभाग हुदै त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पनि प्राप्त भएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यसमा तदारुकता देखाए । रेनो कुमारीका मामा प्रभु यादव पनि भान्जा ज्वाई रामआशिषलाई माफीको आशा सहित रुपन्देही आएका थिए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याल र रेनोका मामा प्रभु मृतक दुर्गा प्रसाद शर्माको श्रीमति सीता शर्मासित माफीको अपेक्षा सहित पगे । “सुरुमा उहाँ मान्नुभएको थिएन, त्यो स्वाभाविक पनि हो ।” प्रजिअ अर्यालले भने “हामीले उहाँलाई धेरै प्रकारले आग्रह ग¥यौ, मैले व्यक्तिगत रुपमै आँशु चुहाएरै आग्रह गरे ।”

पटक पटकको कुरा गर्दा पनि २–३ महिना सम्म कुरा मिल्न सकेन् । कन्चन गाउँपालिकाका अध्यक्ष, कन्चनकै बासिन्दा रहेका  जिल्ला समन्वय प्रमुख उमाकान्त चपाई, प्रजिअ अर्याल लगायतको लगातारको प्रयास पछि सीता ब्लड मनि लिएर माफी दिन तयार भइन । सीताले ब्लड मनि बापत ५० लाख रुपैया मागिन । जुन धनुषामा रहेको यादव परिवारको लागि असम्भव थियो । “५० लाखको कुरा सुनेपछि म आशा मारेर जनकपुर फर्किए ।” प्रभु यादवले भने“हामीले भान्जा ज्वाई रामआशिष फर्किने सम्भावना छोडेका थियौ ।”

यता रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले भने पैसाकै अभावमा कसैलाई मर्न दिनुहुदैन भन्ने पक्षमा थिए । उनले यो कुरा उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा र सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई भने । यसको लागि “बास्केट फण्ड” बनाउने कुरा भयो । तत्काल प्रजिअ अर्यालले ५० हजार र दुई जना सहायक प्रजिअले २५ हजार तथा रुपन्देहीका सुरक्षा निकायका तीन जना प्रमुखले जनही २५ हजार रुपैयाका दरले जम्मा गरे । उता जिल्लाका ३० जना उद्योगी व्यवसायी समेत गरि ३६ लाख २५ हजार रुपैया जम्मा भयो । 

रामआशिष यादवकी श्रीमति रेनो कुमारीले आफ्नो भएको १५ धुर खेत, अढाई धुरको घडेरी र त्यसमा बनेको फुसको घर बेचेर १० लाख जुटाएकी थिइन । सबै मिलाई ४६ लाख २५ हजार रुपैया मृतक दुर्गा प्रसाद शर्माको श्रीमति सीता शर्मालाई नगदै हस्ताण्तरण गरि रुपन्देहीले एउटा उदाहरण कायम गरेको छ । ब्लड मनि वापतको रकम बुझ्दै गर्दा सीताको आँशु थामिएको थिएन । 

रुपन्देहीकै युवालाई हत्या गरेका यादवलाई जोगाउन किन रकम जम्मा गर्नुभयो भन्ने प्रश्नमा उद्योग बाणिज्य महासंघ, लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने “एउटाको मृत्यु भईसकेको अवश्थामा अर्कालाई पनि मृत्यु नै दिनु हुदैन भन्ने हाम्रो मान्यता थियो । दुइटा घरलाई बचाउनका लागि यो प्रयास गरेका हौं ।”

यो ५ वर्षमा रामआशिषले आफुले गरेको कर्मको सजाय भोगेको र यसका बालबालिकाले दुःख नपाउन भन्ने उद्देश्यले पनि रकमको जोहो गरिएको शर्माले बताए । 

आफुले आशा मारिसकेको अवश्थामा रुपन्देहीका सिडियो र यहाका व्यवसायी आफ्नो लागि भगवान भएर आएको रामआशिषकी श्रीमति रेनो कुमारीले बताइन । “मेरो लागि यहाका सिडियो साब भगवान हो, म उहाँको फोटो लगेर भगवान राख्ने ठाउमा राख्छु ।” रेनोले रुदै भनिन् “मलाई मेरो घर खेत चाहिएन मलाई मेरो घरवाला चाहिन्छ ।”

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको प्रयासमा र सीता शर्माको उदार ह्ृदयका कारण ५ वर्ष सजाय काटेका रामाआशिष यादव घर फर्किने वातावरण बनेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सम्झौता गरेको कागज मंगलबार नै कन्सुलर विभाग हुदै साउदी पठाईने बताए । सबै कुरा ठिक रहे अबको करिब एक महिना पछि रामआशिष घर फर्किनेछन् ।–––


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार