मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ मा अवस्थित श्री बोगडी माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि १०० दिने राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु भएको छ । नेपाली सेनाको तारा दल गण, रामनगर ब्यारेक, बुटवलले सञ्चालन गरेको यस तालिममा ३० जना विद्यार्थी सहभागी छन् ।
विद्यालयका प्रधानाध्यापक दुर्गा दत्त त्रिपाठीका अनुसार,सिनियर डिभिजनको यो तालिममा कक्षा ११ र १२ मा अध्ययनरत १५ जना छात्र र १५ जना छात्राको सहभागिता रहेको छ । तालिमको ७९ दिन विद्यालय परिसरमा र बाँकी २१ दिन पूर्वी नवलपरासीको कावासोतीमा सञ्चालन हुनेछ ।
तालिमको मुख्य उद्देश्य विद्यार्थीहरूमा राष्ट्रप्रेम, अनुशासन, नेतृत्व विकास, र सामाजिक सेवाभाव जस्ता गुणहरूको विकास गराउनु रहेको तारा दल गणका सेनानी रोशन बस्नेतले बताउनुभयो । उहाँका अनुसार, तालिममा सैन्य अभ्यास, विपद् व्यवस्थापन, र वातावरण संरक्षण जस्ता विषयहरू पनि समावेश गरिनेछ । वि.सं. २०२२ देखि सुरु भएको एनसीसी तालिममा हालसम्म हजारौं विद्यार्थी दीक्षित भइसकेका छन् । तालिम सफलतापूर्वक सम्पन्न गर्ने विद्यार्थीहरूले सात मित्रराष्ट्रसँग अनुभव आदानप्रदान गर्ने अवसर समेत प्राप्त गर्नेछन् ।
तालिम शुभारम्भ कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले यस तालिमले विद्यार्थीहरूलाई असल नागरिक बन्न र उनीहरूको चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयका पूर्व प्रधानाध्यापक राजेन्द्र यादवले एनसीसी तालिममा सहभागी हुन पाउनुलाई विद्यार्थीको सौभाग्यको रूपमा चर्चा गर्दै यसले उनीहरूको शारीरिक तथा मानसिक विकासका साथै देशप्रतिको कर्तव्यबोधलाई अझ बलियो बनाउने धारणा राख्नुभयो ।