भैरहवा । आफ्नै भारतीय साथीको हत्या गरेको आरोपमा रुपन्देहीका एक जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्गजा गल्याङ्ग नगरपालिका घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ५ बस्ने २४ वर्षिय आशिष भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि अभियुक्तलाई सार्वजनिक गरेको छ । भण्डारीले भारत दिल्ली वेष्ट सगरपुर मदनपुरी बस्ने ३० वर्षिय मोहम्मद अजहर खाँनको हत्या गरेको प्रहरीको आरोप रहेको छ ।
विगत ८ महिना देखि फोटोग्राफी सम्बन्धि कामको सिलसिलामा दुवै जना बिच चिनजान रहेको र मृतक अभियुक्तको घरमा आएको मौका पारी उनको हत्या भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले जानकारी दिए । “भदौं ३१ गते रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा धान खेतमा जेब्रा झोलामा शंकास्पद बस्तु रहेको प्रहरीलाई जानकारी आएको थियो ।” राठौरले भने “झोला भित्र सडे/गलेको अवश्थामा एक शव थियो ।”
अनुसन्धानको क्रममा शवको सनाखत हुन नसकेर अनुसन्धानमा केही ढिलाई भएको उनको भनाई छ । “हामी माथी कुनै दबाव थिएन, नेपालमा त्यो हुलियाको कुनै हराएको व्यक्तिको सूचना थिएन । हेर्दा शव तराई मूलको मानिसको जस्तो देखिएको थियो । त्यसैले हामीले यसलाई भारत तर्फ पनि सनाखतको प्रयास ग¥यौ ।” उनले भने “सीमा नजिक रहेको कारण भारतबाट नेपाल आएर यस्ता अपराध पनि हुने गरेको छ । अन्ततः हाम्रो प्रयास सफल भयो र मृतकका दाजु हैदर अलि खाँनले शवको सनाखत आफ्नो भाईको रुपमा गरे ।”
त्यसपछि मात्र प्रहरीले करिब १७ दिन पछि बिहिबार अभियुक्तलाई पक्राउ गरेको हो । प्रारम्भिक सोधपुछको क्रममा अभियुक्तले आफ्नो अपराध स्विकार गरेको राठौरले बताए । राठौरका अनुसार मृतकले भदौं २४ गते आफ्नो आमालाई फोन गर्दै आफु भारतको गोरखपुरमा रहेको जानकारी पश्चात सम्पर्क बाहिर रहेका थिए । २५ गते अभियुक्त आशिष भण्डारीको घरमा आएका खाँनको सोही समयमा हत्या भएकोे प्रहरीको भनाई छ । वादविवादको क्रममा अभियुक्तले सोही दिन करिब ४ बजे धारिलो हतियार प्रहार गरि खाँनको हत्या गरेको र शव घरबाट करिब ३ सय मिटर पर फालेको प्रहरी उपरिक्षक राठौरले जानकारी दिए ।
हत्या आरोपी भण्डारीलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरि अदालतमा पेश गरेको र थप अनुसन्धान भई रहेको उनले बताए । राठौरले दबाव रहित तरिकाले काम गरेको कारण यस्तो जटिल अनुसन्धानमा प्रहरीले सफलता पाएको बताए ।