रोहिणी । रूपन्देही जिल्लाको ओमसतिया गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को गाउँपालिका स्तरीय एकता तथा सन्देश सभा सम्पन्न भएको छ । कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा घोषणा गरिएको वामपन्थी एकताको सन्देश तल्लो तहसम्म पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नेकपा केन्द्रीय सदस्य सोनिया यादवले पार्टी एकताले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने र समाजवादी क्रान्तिको आधार तयार गर्ने बताउनुभयो । त्यस्तै, पूर्व राज्यमन्त्री घनश्याम यादवले यो एकता केवल नामको मात्र नभई विचार र संगठनको वास्तविक मिलन भएको बताउँदै ओमसतिया कम्युनिस्टहरूको लालकिल्ला भएको दाबी गर्नुभयो ।
उहाँले पूर्व माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका शक्तिहरू एक हुँदा मधेस–तराईमा संगठन थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । चन्नरप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरू निर्मल जिसी, देवेन्द्र पाण्डे, शिवकुमार धवल, प्रमोद यादव लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेकपाले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्ला स्तरको एकता समायोजन सक्ने नीति अनुरुप अभियान तीव्र पारिएको जनाएको छ ।