रामेछाप । सिन्धुलीको दुम्जास्थित आदिलिङ्गेश्वर कुशेश्वर महादेव मन्दिरमा दर्शनार्थीको संख्या बढ्दै छ । सडक सञ्जाल विस्तारले आउजाउ सहज भएसँगै दर्शन तथा पूजा गर्न आउनेको संख्या बढेको हो । कुशेश्वर महादेव मन्दिर बीपी राजमार्गमा पर्ने सिन्धुलीको सुनकोसी गाउँपालिकाको दुम्जामा पर्छ । मन्दिरमा काठमाडौं उपत्यका, आसपासका जिल्ला तथा मधेशबाट समेत दर्शनार्थीहरू आउने गरेका छन् ।
दर्शनार्थीहरु दैनिक गाडी रिजर्भ गरेर आउने गरेको विष्णुप्रसाद नारालले बताए ।
नाराल उक्त मन्दिर र विश्वामित्र गुफामा लामो समयदेखि ध्यान गरेर बस्दै आएका छन्
।
शिव पुराणको हिमवतखण्डमा सो महादेव मन्दिर र पारिपट्टि रहेको रामेछापको
खाँडादेवी गाउँपालिकास्थित विश्वामित्र गुफाको बारेमा पनि चर्चा गरिएको छ ।
त्यसैले महादेव मन्दिरलाई ऐतिहासिक महत्वको तीर्थस्थल मानिन्छ । सुवर्णकौशिकी
अर्थात् सुनकोसी र रोशी खोलाको दोभानमा महादेव मन्दिर छ । हिमवतखण्डमा वर्णित ६४
शिवलिङ्गमध्ये सबैभन्दा पहिलो कुशेश्वर महादेवलाई मानिन्छ । त्यसैले यसलाई
आदिलिङ्ग भनिने साधु माधवप्रसाद न्यौपाने बताउँछन् । हिमवतखण्डका अनुसार ब्रह्माजीले
विश्व सृष्टिको लागि तपस्या गर्दा उत्पन्न भएको लिङ्ग भएकाले पनि यसलाई आदिलिङ्ग
भनिएको हो ।
शुम्भ, निशुम्भ लगायतका राक्षसले
दुःख दिएपछि कुशेश्वर आदिलिङ्गको समीपमा आई देवीको आराधना गर्दा अष्टादश भुजाधारी
जलदेवी दुर्गा प्रकट भएकी थिइन । उनले राक्षसको वध गरी देवताहरूको उद्धार गरेर
सुनकोसी नदीमा खाँडो पखालेर खाँडादेवीमा गाडेर कालिञ्चोक गई अन्तध्र्यान भएको
धार्मिक मान्यता पनि छ । त्यसैले कुशेश्वर मन्दिर र विश्वामित्र गुफासँगै रहेको
घाटलाई दुर्गा घाट भन्ने गरिन्छ ।
आदिलिङ्ग कुशेश्वर महादेवको पूजा दर्शन र हवन गरेमा तथा पितृको श्राद्ध गरे
पितृ उद्धार र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । सुवर्ण कौशिकीको स्नानपछि
कुशेश्वरको दर्शन गरेर कुष्ठरोग निको भई विरुपाक्ष पशुपतिनाथको दर्शन गर्न गएको
वर्णन पनि धर्मशास्त्रमा छ ।
भक्तपुर लगायतका काठमाडौं उपत्यकाका नेवार समुदायले कुशेश्वर महादेवलाई कूल
देवताको रूपमा पुज्ने गर्दछन् । नेपाल संवत् ८९१ मा भक्तपुरका राजा जगज्जय मल्लले
कुशेश्वरको भक्तिभावले राज्य पाएको कहावत छ । राजा भएपछि जगज्जय मल्लले कुशेश्वर
महादेव मन्दिरमा पूजा चलाउन दण्डी बाबामार्फत झाँगाझोली खहरेको खेत तथा फलफूल
बारीको व्यवस्था गरिदिएको इतिहासमा छ । राजा जगज्जयले झाँगाझोली सन्यासी गाउँको
बारी र पाखोसमेत गुठी राखी ताम्रपत्रसमेत गरी दिई सो ताम्रपत्र बमोजिमको गुठी कमाई
नित्यपूजा चलाउन बलभद्र गिरीलाई जिम्मा लगाइदिएका थिए । भूमिसुधारको समयमा फलफूल
बारी बलभद्रका सन्तानले आफ्नो नाममा दर्ता गरे ।
कुशेश्वर मन्दिरको नाममा रहेको धेरै खेत रोशी खोलाले बगाइदियो । अहिले गुठीको
केही जग्गा बाँकी नै छ । तर त्यो व्यवस्थित हुन सकेको छैन ।
भक्तपुरका मल्ल राजाले पनि ढुंगाको खम्बामाथि ढुंगाकै बसाहा राखी कुशेश्वर
महादेवस्थानमा अर्पण गरेका थिए । उनले चाँदीका मुकुट र गहना चढाएका थिए । तिनै
राजाले मन्दिरको वरिपरि गिर्जा र सानो धर्मशाला पनि बनाएका थिए ।
विक्रम संवत् १८३६ मा श्री ५ राजेन्द्र लक्ष्मीदेवी शाहले श्री कुशेश्वर नाथमा
दुमजेश्वरी अंकित चाँदीको बेलपत्र र धतुरा पुण्यको माला पनि चढाएको शिलालेखमा
उल्लेख छ । श्री ५ पृथ्वीवीरविक्रमकी बुबुधाई दुम्जाकी बिर्तावाला जनककुमारीले
विसं १९४५ मा रुद्राक्षको माला जडिएको चाँदीको ठूलो चँदुवा र तामाको जलहरी चढाई
एउटा धर्मशाला बनाइदिएको अभिलेख पनि छ ।
कुशेश्वर मन्दिर परिसरमा अहिले वेद विद्याश्रम सञ्चालनमा छ । उक्त पाठशालामा
कक्षा ६ देखि ९ कक्षासम्म पढाइन्छ । आगामी शैक्षिक सत्रबाट १० कक्षा पनि सञ्चालन
गर्ने तयारी छ ।