मर्चवार । नेपाल सरकारले रुपन्देहीस्थित मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ । गत मंसिर २ गते बसेको मन्त्रिपरिषद्को बैठकले गाउँपालिकाको नाम फेरेर 'मर्चवारीमाई गाउँपालिका' राख्ने र प्रशासनिक केन्द्र पनि सार्ने निर्णय गरेको हो ।
सरकारको निर्णयसँगै अब साविकको मर्चवारी गाउँपालिका 'मर्चवारीमाई गाउँपालिका' को नामले चिनिनेछ । त्यस्तै, गाउँपालिकाको केन्द्र वडा नं. ३ रायपुरबाट सारेर वडा नं. ४ खैरामा कायम गरिएको छ । मन्त्रिपरिषद्को निर्णय नम्बर २४ मा उल्लेख भएअनुसार, “मर्चवारी गाउँपालिका, रुपन्देहीको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका तथा केन्द्र वडा नं. ३ रायपुरबाट परिवर्तन गरी वडा नं. ४ खैरा कायम गर्ने” भनिएको छ ।
भवन निर्माणको अन्योल हट्यो
सरकारको यो निर्णयसँगै गाउँपालिकाको स्थायी प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । लामो समयदेखि जग्गा र केन्द्रको विवादले भवन निर्माण कार्य अलपत्र परेको थियो । गाउँपालिका अध्यक्ष गया प्रसाद बरईका अनुसार, हालसम्म केन्द्र कायम रहेको वडा नं. ३ मा भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध हुन सकेको थिएन । अर्कोतर्फ, वडा नं. ४ मा जग्गा उपलब्ध भए पनि आधिकारिक रूपमा केन्द्र नतोकिँदा भवन निर्माण प्रक्रिया अघि बढाउन कानुनी अड्चन थियो ।
अध्यक्ष बरईले भने, “म निर्वाचित भएयता गाउँपालिकाको नाम परिवर्तन र भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न निरन्तर प्रयासरत थिएँ । अब निर्णय आएपछि भवन निर्माणको बाटो खुलेको छ ।” गाउँपालिकाले अब छिट्टै ठेक्का प्रक्रिया अघि बढाई वडा नं. ४ खैरामा सुविधासम्पन्न प्रशासनिक भवन निर्माण कार्य सुरु गर्ने अध्यक्ष बरईले जानकारी दिए । नाम र केन्द्र परिवर्तनको यो निर्णयले स्थानीय स्तरमा सेवा प्रवाह र विकास निर्माणमा सहजता आउने अपेक्षा गरिएको छ ।