भैरहवा । मंसिर २० गते देखि भैरहवामा सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा नवौं लुम्बिन िपर्यटन महोत्सव २०८१ को आयोजना हुदै छ । २० गते देखि सुरु हुने महोत्सवका लागि भने अहिले देखि नै स्टल पाउन व्यवसायीहरु लाइन लागेका छन् । महोत्सव सचिवालयमा स्टल बुकिङ्ग गर्न आउनेको संख्या बढ्दै जादा आयोजकलाई यसको व्यस्थापनमा हम्मे हम्मे परेको छ ।
संघका वरिष्ठ उपाध्यक्ष समेत रहेको महोत्सवको स्टल व्यस्थापन समितिका संयोजक नेत्र प्रसाद आचार्यका अनुसार ३ सय स्टल बनाए पनि सबै बुक भई सकेको बताए । उनले भने “प्राय सबै स्टल बुक भएका छन्, अझै पनि स्टल लिन आउनेको संख्या उस्तै छ । पहिले बुक गरेका र अहिले पनि सम्पर्कमा नआएकाहरुको स्टल अब माग्न आउनेलाई दिने मनस्थितिमा पुगेका छौं ।”
अहिलेको महोत्सव कृषिलाई लक्षित गरि आयोजना गरिएको हुदा कृषि सम्बन्धि स्टललाई विशेष प्राथमिकता दिईएको उनको भनाई छ । यस बाहेक अटो, होटल व्यसायी र गार्मेन्ट सम्बन्धि स्टलहरु रहेको उनले बताए । “हामीले ३ सय स्टल बनाउदा सुरुमा स्टल बुक हुदैन कि, हामीले दर्शकलाई निराश पो बनाउने हो कि भन्ने चिन्ता थियो ।” आचार्यले भने “अहिले त्यसको ठिक विपरित भएको छ, सबै स्टल बुक भएका छन्, कुनै स्टल खाली छैन । यसले हामीलाई उत्साही बनाएको छ ।”
उनले महोत्सवमा रहेका स्टलहरुमा बाहिरको भन्दा महङ्गो समान बिक्री हुने गरेको भ्रम रहेको बताउदै महोत्सवमा रहेका स्टलहरुमा बिक्री हुने समानहरुलाई विशेष ध्यान दिईने बताए । उनले महोत्सवमा राखिएका समानहरु सर्वसुलभ तथा गुणस्तरिय उपलब्ध गराउने बताए ।
महोत्सव आयोजक मूल समितिका संयोजक ठाकुर कुमार श्रेष्ठले मेलामा सरोकारवाला निकायहरुलाई महोत्सवका अनुगमन गर्न आग्रह गरिएको बताए । उनले स्टलहरुमा राखिने खाद्य परिकारहरुमा ध्यान दिने बताएका छन् । महङ्गो, गुणस्तरहिन खाद्य पदार्थलाई आयोजकले नै सम्बन्धित निकायको समन्वयमा कार्यवाही प्रक्रिया अगाडी बढाउने भएकोले ढुक्क संग मेलामा रहेका परिकार उपभोग गर्न उनले आग्रह गरे ।