भैरहवा । रोहिणी गाउँपालिकाका जनप्रतिनिधिले गाउँपालिका अध्यक्षले कार्यपालिकालाई बन्धक बनाएको बताउदै प्रशासन गुहारेका छन् । गाउँपालिकाको उपाध्यक्ष शिवकान्ती हरिजनको अध्यक्षतामा बसेको जनप्रतिनिधिहरुको बैठकले गाउँपालिका अध्यक्षको ज्यादती प्रति प्रशासन कार्यालयको सहयोग लिने निर्णय गरेको हो ।
बैठकमा सहभागी अधिकांश जनप्रतिनिधिले हस्ताक्षर गरि प्रमुख जिल्ला अधिकारीलाई आवश्यक पहल गरिदिन आग्रह गरेका छन् । बैठकमा सहभागी वडा नम्बर ३ का वडा अध्यक्ष एवम गाउँपालिका प्रवक्ता बीर बहादुर क्षेत्रीका अनुसार रोहिणी गाउँपालिकाका अध्यक्ष श्री विद्या प्रसाद यादवले विगत ३ महिना देखि गाउँकार्यपालिकाको बैठक नबोलाई कार्यपालिकालाई बन्धक बनाएका छन् ।
“उहाँले कार्यपालिका सदस्यहरु संग समन्वय नगरी कार्यपालिकाको निर्णय बगैर तानाशाही गरि एकलौटी निर्णय लिने र पालिकालाई हैकमबाजी तरिकाले चलाउन खोज्नुभएको छ ।” क्षेत्रीले भने “पालिकाको योजना तथा कार्यक्रमहरु पनि मनोमानी तरिकाले सन्चालन गरिरहनु भएको छ भने शिक्षा शाखा प्रमुखसंग मिलेमतो गरि आर्थिक चलखेलमा विना निर्णय गणित अंग्रेजी विषयको शिक्षक राख्ने गर्नुभएको छ ।”
यस्तै शिक्षा समितिको बैठकमा समितिका संयोजकलाई नबोलाई समितिमा भएका पहिलाका सदस्यहरु मध्ये केहीलाई आफू खुसी हटाउने र अध्यक्ष र शिक्षा शाखा प्रमुखले मनपरि तरिकाले पालिका वाहिरका विद्यालयका शिक्षकलाई सदस्यमा मनोनित गरेको क्षेत्रीले आरोप लगाए ।
वडा नम्बर १ का वडा अध्यक्ष आविद अली पठानले बैठक बोलाउदा पालिका अध्यक्षले सार्वजनिक ठाउमै धर्म सम्बन्धि गाली गलौच गर्ने गरेको बताए । “बैठकमा निज संग प्रश्न तथा छलफल गर्दा बैठकमै इस्लाम धर्म मान्ने सदस्यलाई आतंकवादी, उग्रवादी जस्ता अमानविय अमर्यादित शब्दको प्रयोग गरि धार्मिक द्वन्द फैलाउन तथा अशान्ति मच्चाउने जस्ता क्रियाकलाप गरि रहनु भएको छ ।” अलीले भने “त्यसैले यी सबै समस्याको समाधान खोज्न र पालिका अध्यक्षलाई कानूनी कठघरामा उभ्याउनका लागि प्रशासन कार्यलय गुहारेका हौ ।”
यसरी निवेदन दिनेमा वडा नम्बर १ का वडा अध्यक्ष आविद अली, २ का करम हुसेन, ३ का बीर बहादुर क्षेत्री, ४ का तारानाथ यादव, वडा नम्बर ७ का हन्नान अहमद भाँट र कार्यपालिका सदस्यहरु नियामत अलि, निरज हरिजन, कविता गौड, सुवहुन निशा, रेखा हरिजन र जानकी हरिजन रहेका छन्।
यस विषयमा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवलाई प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा पनि उनि सम्पर्कमा आउन चाहेनन ।