रुपन्देही । सरकारले उद्योग–व्यवसाय फस्टाउने नीतिनियम बनाउनुपर्नेमा उद्योगी–व्यवसायीले जोड दिएका छन् । उनीहरुले उद्योग–व्यवसाय सञ्चालनमा थुप्रै अवरोध रहेको बताए । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन (समाचार र विचारको संकथन) अन्तर्गत कसरी उभो लाग्छ उद्योग व्यवसाय सम्बन्धी छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्यम गर्नका लागि धेरै अवरोधहरु रहेको बताउनुभयो । ‘हामी निर्वाहमुखी उद्योग–व्यवसायमा केन्द्रीत भयौं कि ? यसतर्फ सोच्नुपर्नेछ । अध्यक्ष पराजुलीले स्वदेशी उद्योग दिगो सञ्चालनका लागि सरकारले नीति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वदेशी वस्तुको प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । ‘अचार, डेरी प्रोडक्ट नेपालकै प्रयोग गर्न सकिन्छ, ’उहाँले भन्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले राष्ट्रिय उत्पादनले प्राथमिकता पाउन नसकेको बताउनुभयो । उहाँले काठ पनि तेस्रो मुलुकबाट आयात भइरहेको बताउनुभयो । नीतिगत क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले निजी क्षेत्रको कुरा राज्यले सुन्ने नचाहेको आरोप लगाउनुभयो । उहाँले कच्चा पदार्थमा भन्सार शुल्क घटाउनुपर्नेमा जोड दिनुभयो । बेलहिया नाकामा मात्र नभइ सबै नाकामा कडाइ हुनुपर्ने उहाँको भनाइ छ ।
रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले उद्योग–व्यापारको सम्बन्ध नङ र मासुको जस्तो भएको बताउनुभयो । उहाँले सरकारको नीति व्यवसायमैत्री हुन नसकेको बताउनुभयो । उद्योग व्यापार संघ, बुटवलका अध्यक्ष लोकनाथ पन्थीले राज्यका नीतिनियम ठीक हुनुपर्नेमा बताउनुभयो । उहाँले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । ‘राज्यलाई मात्रै दोष लगाएर हुँदैन, गलत गर्ने व्यवसायीको समर्थन गरेका छैनौं, ’उहाँले भन्नुभयो । कार्यक्रमको सहजीकरण पत्रकार रेखा भुसालले गर्नुभएको थियो ।