मर्चवार । सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ रोइनिहवामा प्रत्येक बुधबार सहकारी हाट बजार सुरु भएको छ । श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको अयोजनामा तरकारी लगायत घरायसी कार्यमा प्रयोग हुने सामानहरुको खरीद बिक्री हुने स्वावलम्बनका अध्यक्ष जयराम गडेरियाले बताए ।
स्वावलम्बनको १ कठ्ठा १० धुर निजि जग्गामा लाग्ने उक्त हाट बजारमा स्थानीय उत्पादन तरकारी, फलफुल कास्मेटिक सामान, खजा नास्ता लगायत सकाहारी परिकारको खरीद बिक्रि हुने अध्यक्ष गडेरियाले जानकारी दिएका छन् । खाली रहेको जग्गालाई सदुयोग गरी स्वावलम्बनको संचालक समितिको निर्णय तथा स्थानीय किसानहरुको सल्लाह अनुसार हाट बजार सुरु गरिएको उनले बताए । आगामी दिनमा यस ठाउँमा दैनिक रुपले तरकारीको थोक खरीद बिक्रि बजार संचालन गर्ने समेत लक्ष्य राखिएको अध्यक्ष गडेरियाले जानकारी दिएका छन् ।
सम्मरीमाई ५ का वडा सदस्य सुवास चन पाण्डेयले उक्त बजारलाई ब्यवस्थित बनाउन वडा स्तरबाट बजेट बिनियोन गर्ने बताएका छन् । हाल उक्त बजारमा माटो पटान मात्र गरी खुल्ला अवस्थामा रहेकोले उक्त बजारलाई हिलोमुक्त बनाई वर्षाको याममा बजार प्रावित नहुनेगरी टहरा समेत निर्माण गर्ने प्रयास गर्ने उनले बताए ।
स्वावलम्बनका ब्यवस्थापक अशोक कुमार तिवारीले हाल बजारमा पसल राख्नेहरुको लागि कुनै शुल्क नराखिएको बताए । बजारलाई पूर्ण रुपले संचालन गरी किसान, ब्यवसायी र सहकारी संस्थाको निर्णय अनुसार उचिस शुल्क लगाउने उनले बताए । बढदैगरेको बेरोजगारी र किसानले उत्पादन गरेको सामानले बजार नपाएको अवस्थालाई मध्य नजर गरी उक्त बजारको संचालन गरिएको ब्यवस्थापक तिवारीले जानकारी दिएका छन् । यहाँ अधिकांस स्थानीय उत्पादन खरीद बिक्री हुने भएकोले किसान र खरीदकर्ता बिच प्रत्यक्ष सम्पर्क हुने र उचित मुल्य पाउने उनले बताए । बजारलाई ब्यवस्थित बनाउन राय सल्लाह सहित प्रवर्धन गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
स्थानीय क्षेत्रमा बजार नरहेको अवस्थामा किसानहरुले उत्पादन गरेको सामानहरु बिचौलियाहरुलाई मात्र बिक्रि गर्ने बाध्यता हटेको स्थानीय किसान राजकुमार मल्लाहले बताए । उनले भने ‘आफ्नो हातले गोडमेल गरी उत्पादन गरेको तरकारी आफ्नै हातले तौल गरी उपभोक्तालाई दिदा राम्रो मुल्य पाइने भएको छ । यसले हाम्रो घर खर्च चलाउन धेरै सहयोग गर्नेछ ।’