धकधई । रुपन्देहीको रोहिणी गाउँपालिका-३, धकधईमा अवस्थित त्रिदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता तथा वडा नं. ३ का वडाध्यक्ष वीर बहादुर क्षेत्रीको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष शम्भु प्रसाद यादवले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक विकासका लागि संस्थाले निरन्तर काम गरिरहेको बताए । उनले १३ औं साधारण सभामा वडाध्यक्षद्वारा गरिएको प्रतिवद्धता अनुसार गाउँपालिकाबाट संस्थालाई १ थान कम्प्युटर र प्रिन्टर सहयोग प्राप्त भएको जानकारी दिँदै स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गरे ।
२०६८ साल असोज १ गते स्थापना भएको यस संस्थामा हाल ७४ महिला र १७५ पुरुष गरी कुल २४९ जना शेयर सदस्यहरू रहेका छन्। सभामा सचिव बिरेन्द्र कुमार गौड, लेखा समिति संयोजक प्रेमनाथ त्रिपाठी, ऋण उपसमिति संयोजक बाल सुग्रीव बर्मा र शिक्षा उपसमिति संयोजक फिरोज अहमद खानले आ-आफ्नो प्रतिवेदन पेश गरेका थिए । सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि मलखाद विक्री वितरण गर्ने, दैवीय प्रकोप राहत कोष कार्यविधि बनाउने, विनियम संशोधन गर्ने तथा लाभांश वितरण गर्ने लगायतका महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
सो अवसरमा एस.ई.ई. र एस.एल.सी. उत्तीर्ण विद्यार्थीहरू, संस्थाका ज्येष्ठ नागरिक शेयर सदस्यहरू, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीहरूलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष फिरोज अहमद खांले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सल्लाहकार मु. इद्रीश गददीले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष शम्भु प्रसाद यादवको सभापतित्वमा सम्पन्न भएको थियो।