काठमाडौँ । तिथिको घटबढका कारण यस वर्ष तिहारको दोस्रो दिन आइतबार कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्रसम्मत रूपमा एकै दिन यी दुवै पर्व मनाउने निर्णय गरेसँगै आज बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिएको छ भने साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी दीपावली मनाइँदै छ।
पौराणिक मान्यता अनुसार यमलोकको पहरा दिने र भैरवको वाहन मानिने कुकुरलाई प्रसन्न राख्दा मृत्युको भय नहुने विश्वास गरिन्छ भने समुद्र मन्थनका क्रममा औँसीकै दिन महालक्ष्मी प्रकट भएको र बलि राजाको कथासँग जोडिएका कारण यस रातलाई ‘सुखरात्रि’ मानी घरघरमा दीप प्रज्वलन गर्ने गरिन्छ।
पञ्चाङ्ग समितिका अनुसार आगामी कात्तिक २३ गते गाईतिहार र २४ गते गोरुतिहार, गोवर्धन पूजा तथा म्हपूजा पर्नेछ भने सोही दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ। त्यस्तै, तिहारको अन्तिम दिन कात्तिक २५ गते भाइतिहार (भाइटीका) परेको छ भने त्यस दिनका लागि टीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटलाई उत्तम मानिएको छ।