कास्की । देशको पर्यटकीय राजधानी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा विश्व पर्यटन दिवसका अवसरमा यही असोज ११ गते साँझ मिनी सडक महोत्सव आयोजना हुने भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले आज पत्रकार सम्मेलन गरी यही सेप्टेम्बर २७ मा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
महोत्सवमा पोखराको मौलिक संस्कृति, स्थानीय कला, खानाका परिकार र आतिथ्यलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । रेवानका अध्यक्ष वसन्त गौतमका अनुसार पर्यटन क्षेत्रले विभिन्न चुनौती र विषम परिस्थितिको सामना गरिरहेका बेला ‘नेपाल खुला छ’ र ‘पोखरा पर्यटकको स्वागतका लागि तयार छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
यस वर्षको विश्व पर्यटन दिवसको मूल सन्देश ‘पर्यटनलाई पुनःपरिकल्पना गर्न डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता’लाई आत्मसात् गर्दै आयोजना हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । “महोत्सवमार्फत पोखराको पर्यटन व्यवसायसँगै स्थानीय कला, संस्कृति, खानाका परिकार तथा आतिथ्यलाई पर्यटकसमक्ष प्रस्तुत गर्नेछौँ । पोखराका पर्यटकीय गन्तव्यहरू खुला तथा सुरक्षित रहेको सन्देश दिन महोत्सवले सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष गौतमले भन्नुभयो ।
महोत्सवको मुख्य उद्घाटन कार्यक्रम अम्मट क्षेत्रमा हुनेछ । औपचारिक शुभारम्भपछि मुख्य मञ्चमा विभिन्न सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ । सेन्टर प्वाइन्ट चोकस्थित चौतारामा गन्धर्व गायन प्रस्तुत गरिनेछ भने लेकसाइड स्ट्रीट नं ४ र ५ बीचको क्षेत्रमा सांस्कृतिक नृत्यलगायतका कार्यक्रम सञ्चालन गरिने रेवान पोखराले जनाएको छ ।पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले महोत्सवले केही समयदेखि सुस्ताएको पोखराको पर्यटन गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखराबाट फ्लाई दुबईले अन्तरराष्ट्रिय उडान सुरु गरेपछि पर्यटकीय गतिविधि बढ्न थालेको उल्लेख गर्दै उहाँले अन्तरराष्ट्रिय हवाई सम्पर्कले पोखराको पर्यटनमा नयाँ सम्भावना सृजना गरेको बताउनुभयो । रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले पर्यटनको मुख्य सिजन सुरु हुने समयमै आयोजना हुन लागेको महोत्सवमार्फत पोखरा पर्यटकको स्वागतका लागि तयार रहेको सन्देश प्रवाह गरिने बताउनुभयो ।