बचत तथा ऋण सहकारी संस्था गुल्मीको साधारणसभा सम्पन्न

मनु सुनार 31+ समाचार ( )
१३ पौष २०८१, शनिबार

गुल्मी  । बचत तथा ऋण सहकारी संघ लिमिटेड, गुल्मीको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम तम्घासको एभरग्रिन पार्टी प्यालेसमा जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुल्मीको १७ औं साधारण सभा सम्पन्न भएको हो । 

त्यस अवसरमा प्रमुख अतिथि रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवरले देशका विभिन्न ठाउँमा सहकारीको बचत रकम अपचलन गरेका घटनाले ठिक तरिकाले सञ्चालन भएका सहकारीहरुले पनि त्यसको आक्षेप खेप्नु परेको बताउनुभयो । उहाँले यस जिल्लामा सञ्चालित सहकारीहरुको बचत रकम चुस्त, दुरुस्त राख्न सकेकोप्रति यहाँका सहकारी अभियान्ताहरुप्रति धन्यवादन ज्ञापन गर्दै यो गरिमा लाई बचाइ राख्न आग्रह गर्नुभयो । उहाँले सहकारीहरुको प्रवद्र्धन र विकासका लागि आवश्यक सहयोग र सहजीकरण स्थानीयतहले गर्ने बताउनुभयो ।  

जिल्ला सहकारी संघका अध्यक्ष यम बहादुर थापाले सरकारले सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको भन्दै यो लागू भए नीति, विधि र प्रविधिअनुसार सञ्चालन भएर ठुलो पुँजी बनाएका सहकारीहरु संकुचित बन्ने बताउनुभयो । राज्यको तीन खम्बे अर्थ नीति अन्र्तगत सहकारीलाई एक खम्बाका रुपमा लिए पनि अहिले लागू गर्न खोजिएको अध्यादेशले ठुलो पुँजी बनाएका सहकारीलाई संकुचित बनाउने बताउनुभयो । 

कतिपय सहकारीहरुले ऐन र विनियोजन अनुसार काम नगर्दा बचत रकम अपचलन भएको बताउँदै यो विषय सडक देखि सदनसम्म उठेको उल्लेख गर्नुभयो । स्थानीयतहको निर्माणपछि सहकारीलाई दर्ता गरेर छोड्दििने, नियमन र अनुगमन नगर्ने गरेका कारण पनि सहकारीमा समस्या सिर्जना भएको उहाँको भनाइ छ । 

गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामप्रसाद पन्थी र लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चनक बहादुर कुँवरले पनि सरकारले जारी गर्न थालेको अध्यादेश लागू भए संस्थागत रुपमा ठुलो पुँजी संकलन गरेका सहकारीहरुलाई समस्या हुने बताउनुभयो । ‘गाउँगाउँमा सहकारीः घरघरमा भकारी’ भन्ने नारालाई सशक्त बनाउन सहकारी अभियानलाई थप मजबुत भएर विस्तृत छलफल चलाउनुपर्नेमा जोड दिनुभयो । 

जनजागृती बचत तथा ऋण सहकारी संस्था छत्रकोटका अध्यक्ष बाबुराम अर्यालले सहकारीले गरिबी न्युनिकरण र वैदेशिक रोजगारी रोक्नेतर्फ आफ्ना कार्यक्रम र पुँजी परिचालन गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । जिल्ला समन्वय समिति सदस्य महेश्वर भण्डारी तथा पूर्व अध्यक्ष तथा सल्लाहकार देवबहादुर बस्नेतले छुटेका सहकारीहरुलाई छाता सगठनमा आवद्ध गराउन थप क्रियाशिल बन्नुपर्नेमा सुझाव दिनुभयो । 

सोही अवसरमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्यामकुमार पाण्डेले आफु हाल अमेरिकामा भएकाले भौतिक रुपमा उपस्थित हुन नसकेको भन्दै पठाउनुभएको शुभकामना सन्देश सचिव श्यामलाल कुँवरले सभामा वाचन गरी सुनाउनुभएको थियो । 

त्यस अवसरमा दुई सहकारीलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरिएको छ । उत्कृष्ट कार्य गरेको भन्दै जनजागृती बचत तथा ऋण सहकारी संस्था लिमिटेड छत्रकोट गाउँपालिका –३ हर्दिनेटा र छहरा दोविन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रेसुंगा नगरपालिका –८ लाई सम्मान गरिएको हो ।उक्त सहकारीहरुको सम्मान क्रमशः अध्यक्षहरु बाबुराम अर्याल र धनबहादुर श्रीसलाई प्रदान गरिएको थियो । 

यस्तै पूर्व सञ्चालक तथा कर्मचारीहरुलाई पनि सम्मान गरिएको सचिव कुँवरले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार पूर्व सञ्चालक विमला गौतम, धातानन्द शर्मा, पूर्व लेखा सुपरीवेक्षण समिति सदस्य कृष्णकुमार बस्नेत, विष्णुप्रसाद पौडेल र पूर्व व्यवस्थापक सरस्वती केसी थापालाई सम्मान गरिएको थियो । 

साधारण सभामा कार्यवाहक अध्यक्ष तोयनाथ ज्ञवालीले सहकारीको वार्षिक प्रतिवेदन, सचिव कुँवरले सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन गणेश श्रेष्ठ र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक शालिकराम पन्थीले प्रस्तुत गर्नुभएको थियो । सबै प्रतिवेदनहरु साधारण सभाद्वारा पारित भएका छन् । कार्ववाहक अध्यक्ष ज्ञवालीको अध्यक्षता सदस्य चेतनारायण पाण्डेको स्वागत तथा सचिव कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार