नेकपा एमालेका ३४ वर्षीय नेता दिनेश कुमार यादव ‘गणेश’ रूपन्देहीको रोहिणी गाउँपालिकाको राजनीतिमा एक ऊर्जावान् व्यक्तित्व हुनुहुन्छ । हाल एमाले जिल्ला कमिटी सदस्य तथा रोहिणी वडा नं. ६ र ७ को इन्चार्ज रहनुभएका यादव दुई पटक वडाअध्यक्षको निर्वाचनमा झिनो मतान्तरले पराजित भए पनि निरन्तर जनसेवामा सक्रिय हुनुहुन्छ । उहाँको पारिवारिक पृष्ठभूमि, राजनीतिक यात्रा र आगामी योजनाका बारेमा पत्रकार विवेक विश्वकर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश :
सुरुमा आफ्नो पारिवारिक र शैक्षिक पृष्ठभूमिका बारेमा बताइदिनुस् न ?
मेरो बुवाको नाम शम्भुनाथ यादव र आमाको नाम कैलाशी देवी यादव हो । म उहाँहरूको माइलो छोरा हुँ । हाम्रो परिवारको जरा नै समाजसेवामा छ । पञ्चायत कालमा मेरो बाजे बसुदेव अहिर गाउँको प्रधान हुनुहुन्थ्यो । उहाँले पजरकट्टीमा हेल्थ पोस्ट निर्माणका लागि २ कठ्ठा जग्गा दान गर्नुभएको थियो । त्यही संस्कार ममा पनि सरेको छ । शिक्षाको कुरा गर्दा मैले भैरहवा बहुमुखी क्याम्पसबाट बिएड सम्मको अध्ययन पूरा गरेको छु ।
तपाईँले त सरकारी जागिर (खरिदार) नाम निकाल्नुभएको थियो, तर जागिर छोडेर राजनीतिमा किन लाग्नुभयो ?
हो, मैले लोकसेवा आयोगको परीक्षा दिएर हेटौडाबाट खरिदार पदमा नाम निकालेको थिएँ । तर, मेरो मनमा सानैदेखि समाजको लागि केही गर्ने हुटहुटी थियो । जागिर खाएको भए एउटा कार्यालयमा सीमित हुन्थेँ होला, तर राजनीति र समाजसेवा मार्फत हजारौँको सेवा गर्न पाउने अवसर थियो । त्यसैले सरकारी सुख–सुविधाभन्दा जनताको दुःख–सुखमा साथ दिनु नै मैले उचित ठानेँ र निरन्तर समाजसेवामै सक्रिय भएँ ।
नेकपा एमालेमै लागेर राजनीति गर्ने प्रेरणा कहाँबाट पाउनुभयो ?
एमालेको नीति र सिद्धान्तले मलाई सधैँ आकर्षित ग¥यो । म विगत १२–१३ वर्षदेखि एमालेको नीति–निर्देशनमा रहेर काम गरिरहेको छु । हाल म जिल्ला कमिटी सदस्य र वडा ६ र ७ को इन्चार्जको रूपमा पार्टी संगठन मजबुत बनाउन खटिरहेको छु ।
तपाईँ दुई पटक वडाअध्यक्षको चुनावमा दोस्रो स्थानमा रहनुभयो, यसलाई कसरी लिनुहुन्छ ?
चुनावमा हार र जित प्राविधिक कुरा हुन् । म दुई पटक झिनो मतले पराजित भएँ, तर मैले कहिल्यै हार खाइनँ । मेरो लागि कुर्सी मोह ठूलो कुरा होइन, जनताको माया र सेवा नै प्रमुख हो । चुनाव हारे पनि म २४ सै घण्टा जनताकै बिचमा छु । राति होस् वा दिन, कसैको फोन आउने बित्तिकै म सहयोगका लागि पुग्ने गरेको छु ।
आगामी स्थानीय निर्वाचनमा तपाईँको तयारी के छ ?
म पार्टीको इमानदार सिपाही हुँ । अहिलेसम्म पार्टीले दिएको हरेक जिम्मेवारी कुशलतापूर्वक निभाएको छु । त्यसैले यस पटक पनि पार्टीले मलाई नै टिकट दिनेछ भन्नेमा पूर्ण आशावादी छु । रोहिणी ७ मा करिब ६ हजार मतदाता हुनुहुन्छ, उहाँहरूको सुख–दुःखमा म सधैँ भिजेको छु ।
यदि तपाईँ निर्वाचित हुनुभयो भने जनताका लागि के गर्नुहुन्छ ?
मेरो स्पष्ट प्रतिबद्धता छ— यदि जनताले मलाई जिताउनुभयो भने म सरकारले दिने कुनै पनि सेवा–सुविधा (तलब–भत्ता) लिने छैन । त्यो रकम म गरिब, असहाय, एकल महिला र अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गर्नेछु । मेरो जीवन नै जनताको सेवामा समर्पित छ । म जातपात र भेदभावमा विश्वास गर्दिनँ, सबैलाई समान व्यवहार गर्छु ।
रोहिणीमा नेकपा एमालेको अवस्था र विकासको स्थितिलाई कसरी हेर्नुभएको छ ?
पछिल्लो स्थानीय चुनावमा एमाले यहाँ तेस्रो स्थानमा थियो, तर अहिले हामीले गाउँपालिका र वडा स्तरमा सक्रिय कमिटीहरू बनाएका छौँ । आउने चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने मेरो लक्ष्य छ । हाम्रा पार्टीका सांसदज्यूले यस क्षेत्रमा उदाहरणीय काम गर्नुभएको छ— चाहे त्यो सौर्य ऊर्जा पम्प जडान होस्, शिक्षा र स्वास्थ्यमा लगानी होस्, वा गरिबका लागि आवास निर्माण । रोहिणीलाई उत्कृष्ट पालिका बनाउन हामी अहोरात्र खटिरहेका छौँ ।
अन्त्यमा, आफ्ना मतदाता र शुभचिन्तकहरूलाई के भन्न चाहनुहुन्छ ?
म सधैँ तपाईँहरूकै बिचमा छु । छठ पर्व होस् वा अन्य सामाजिक कार्य, म सधैँ अग्रभागमा रहेर सेवा गर्दै आएको छु । मलाई समाजसेवा गर्दा कहिल्यै दिक्क लाग्दैन, झन् उर्जा मिल्छ । आगामी दिनमा पनि तपाईँहरूको माया र साथ पाउने अपेक्षा राखेको छु । हामी मिलेर रोहिणीको मुहार फेर्नेछौँ ।
Hamro rohini gaupalika 7 ko emaandar ra sahyogi neta ganesh yadav dai lai hamro full support xa ❣️❣️🙏🙏
हाम्रो रोहिणी वार्ड नं ०७ को अत्यन्त मिलनसार र सहयोगी राजनेता। म र मेरो परिवार र अफ्न्त दाईको साथमा छौं।