भैरहवा । सशस्त्र प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको साढे पाँच लाख रुपैयाँभन्दा बढी मूल्यको लत्ताकपडा र ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको छ। जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बासपास इलाकाबाट उक्त सामान नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा, रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपी कृष्ण भट्टराईको नेतृत्वमा खटिएको टोलीले नियमित चेकजाँच गर्ने क्रममा उक्त अवैध सामान फेला पारेको हो।
सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउँदै गरिएको अन्दाजी ४ लाख २ हजार ६ सय रुपैयाँ बराबरको लत्ताकपडा र सो सामान ओसार्न प्रयोग गरिएको नम्बर नखुलेको भारतीय मोटरसाइकल बरामद गरिएको छ। बरामद गरिएका लत्ताकपडा र मोटरसाइकलसहित कुल ५ लाख ५२ हजार ६ सय रुपैयाँ बराबरको सामान आवश्यक कारबाही तथा भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।