भैरहवा । रुपन्देहीको भैरहवास्थित विभिन्न किराना पसलहरूमा बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको नेतृत्वमा खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथ र वडा नम्बर ६ गल्लामण्डीका गरी आठ वटा पसलहरूको अनुगमन गरेको हो।
अनुगमनका क्रममा खुला रूपमा खाद्यवस्तु तथा ड्राई फ्रुट्स बिक्री गरिएको, लेबल र प्रयोग अवधि नखुलेको, खरिद बिलबिनाका सामान राखिएको, व्यवसाय नवीकरण नभएको तथा म्याद सकिन लागेका सामग्री भेटिएको छ। गल्लामण्डीका पसलमा खरिद बिलबिना फेला परेका हल्का पेय पदार्थ र खुला रूपमा राखिएको चिनी नष्ट गरिएको छ भने तिहार लक्षित झिलिङ्गा रोटीमा त्रुटिपूर्ण विवरण राखिएको पाइएपछि उत्पादकलाई सोधपुछका लागि बोलाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार व्यवसायीहरूलाई तत्काल ठूलो जरिवाना नगरी मूल्यसूची अद्यावधिक गर्न, म्याद सकिन लागेका सामान छुट्टै राख्न र नियम पालना गर्न लिखित चेतावनी दिइएको छ। पुनः कैफियत भेटिए कडा कारबाही गरिने र पर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइने टोलीले जनाएको छ। अनुगमनमा जिल्ला प्रशासन, प्रहरी, वाणिज्य, घरेलु, खाद्य प्रविधि, नगरपालिका तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता थियो।